काठमाडौं । काठमाडौंबाट पृथ्वी राजमार्ग हुँदै बाहिरिने सवारी साधनहरूलाई कलंकीदेखि नै प्रवेशमा रोक लगाइएको छ ।
काठमाडौं–नारायणगढ सडकको धादिङ खण्डका विभिन्न ठाउँमा पहिरो झरेकाले काठमाडौंबाट बाहिरिने ठूला सना सवारीलाई कलंकीबाटै प्रवेशमा रोक लगाइएको हो ।
अहिले बल्खुदेखि कलंकीसम्मको सडकमा लस्करै बस तथा सडकहरू लाइन लागेका छन् । वर्षाका कारण पृथ्वी राजमार्गको धादिङ खण्डमा सात ठाउँमा पहिरो झरेको प्रहरीले जनाएको छ ।
कतिपयप ठाउँमा पहिरो पन्छाइसकिएको र कतिपय ठाउँमा पन्छाउने काम जारी रहेको धादिङ प्रहरीले जनाएको छ ।
बीपी राजमार्ग र कान्तिलोकपथ बन्द छन् । यी राजमार्गहरूमा ठाउँठाउँमा पहिरो खसेका कारण बिहानैदेखि सवारीसाधनहरू गुड्न सकेका छैनन् । वर्षा नरोकिएका कारण सम्बन्धित जिल्लाका प्रशासन कार्यालयहरूले सवारी सञ्चालनमा रोक लगाएका छन् ।


