काठमाडौं । नेपाल र नामिबियाबीच औपचारिक रूपमा कूटनीतिक सम्बन्ध स्थापना भएको छ।
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल र नामिबियाका अन्तर्राष्ट्रिय सम्बन्ध तथा व्यापारमन्त्री सेल्मा आशिपाला–मुसाभीबीच आज संयुक्त विज्ञप्तिमा हस्ताक्षर गर्दै दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापना गरिएको हो।
संयुक्त राष्ट्रसंघको मुख्यालयमा संयुक्त राष्ट्रसंघको महासभाको ८१औँ अधिवेशनका अवसरमा आयोजित संक्षिप्त हस्ताक्षर समारोहअघि दुवै मन्त्रीले आपसी हितका विभिन्न विषयमा छलफल गरेका थिए।
छलफलका क्रममा नेपालमा हालै आएको विनाशकारी जलवायुजन्य विपद्बाट परेको असरबारे पनि विचार आदानप्रदान भएको थियो। यसका साथै, नेपाल र नामिबियाबीच द्विपक्षीय सहकार्यलाई थप विस्तार गर्दै दुवै देश र जनताको साझा प्रगति तथा समृद्धिका लागि नयाँ सम्भावनाको खोजी गर्नुपर्नेमा दुवै मन्त्रीले जोड दिएका थिए।
नामिबियासँग कूटनीतिक सम्बन्ध स्थापना भएसँगै नेपालको कूटनीतिक सम्बन्ध विस्तार भएका देशको संख्या १ सय ८७ पुगेको छ।


