काठमाडौं । नेकपा (एमाले)का सांसद लक्ष्मीप्रसाद पोखरेलले प्रधानमन्त्री वालेन्द्र शाह र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित केही नेताहरूको राजनीतिक उदयमा अमेरिकी सहयोगमा सञ्चालित संस्थाहरूको भूमिका रहेको भनी आएको समाचारबारे सरकारसँग जवाफ माग गरेका छन्।
केही दिनअघि रास्वपाको उदयमा अमेरिकी लगानी रहेको भनेर ‘द ग्रे जोन’ले एउटा रिपोर्ट सार्वजनिक गरेको थियो। सांसद पोखरेलले यस विषयमा सरकार र सत्तारुढ दलका सभापति लामिछानेले जवाफ दिनुपर्ने बताए।
उनले गत वर्षको २४ भदौमा भएको आगजनीमा तालमिप्राप्त समूह तथा विभिन्न रासायनहरू प्रयोग गरिएको तथ्यसमेत पुष्टि भइसकेको बताए।
उनले भने, ‘सिंहदरबारसहित सरकारी, निजी, व्यवसायिक तथा राजनीतिक दलका कार्यालयमा आगजनी गर्दा तालिमप्राप्त समूहको संलग्नता र रासायनिक सोडियम प्रयोग भएको विषय यसअघि नै न्युयोर्क टाइम्सले समाचार प्रकाशित गरिसकेको छ। भदौ २३ र २४ का घटनाबारे अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा आएका विषय गम्भीर प्रकृतिका भएकाले अमेरिकी अनलाइन पत्रिका द ग्रेजोनले प्रकाशित गरेका तथ्यहरू उपर कसले जवाफ दिने हो? प्रधानमन्त्री वालेन्द्र शाहसहित राष्ट्रिय स्वतन्त्र पार्टीका केही प्रमुख नेताहरूको राजनीतिक उदयमा अमेरिकी सहयोगमा सञ्चालित संस्थाहरूको भूमिका रहेको दाबी द ग्रे जोनले गरेको छ। यसको जवाफ चाहिन्छ। प्रश्नबाट कोही पनि भाग्न पाउँदैन।’


