काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका सांसद महेन्द्र बहादुर शाहीले सरकारले आफ्नो कमजोरी नसच्चाए आफैँ पतनको बाटोमा जाने जनाएका छन् ।
बिहीबार प्रतिनिधिसभा बैठकमा सांसद शाहीले दुई तिहाइको सरकार भाषण र ‘स्टन्ट’मा मात्र सीमित नभई व्यवहारमै जनउत्तरदायी बन्नुपर्ने भन्दै कमजोरी नसच्चाए सरकार आफैँ पतनको बाटोमा जाने जनाएका हुन् ।
वर्तमान सरकारले कर्मचारी संयन्त्रमाथि अनावश्यक नियन्त्रण र दबाब सिर्जना गरी आतङ्कित पार्ने काम गरेको उनले आरोप लगाए । उनले भदौ १७ र ३१ गते सर्वोच्च अदालतमा भएको आगलागी, काठमाडौं जिल्ला अदालतबाट मुद्दाका मिसिलहरू रहस्यमय रूपमा चोरी भएको घटनाको छानबिन गर्न माग गरे ।
सांसद शाहीले नेपाल जलवायु परिवर्तनको उच्च जोखिममा रहेकाले अबका भौतिक संरचना जलवायु जोखिमलाई सम्बोधन गर्ने गरी निर्माण गरिनुपर्ने र अन्तर्राष्ट्रिय मञ्चमा नेपालले जलवायु न्यायको माग दृढतापूर्वक राख्नुपर्ने धारणा राखे । साथै उनले चाडपर्वका बेला महँगी र कालोबजारी रोक्न तथा सुरक्षित यात्राको व्यवस्था मिलाउन माग गरे ।
मासिक ४५ देखि ५० हजार मेट्रिक टन एलपी ग्यास माग रहेकोमा पछिल्लो ४ महिनामा २० देखि २५ हजार मेट्रिक टन मात्र आयात भएको भन्दै उनले कूटनीतिक पहल मार्फत आपूर्ति सहज बनाउन सरकारको ध्यानाकर्षण गराए ।


