चितवन । हानामी तेस्रो चितवन गोल्डकप अन्तराष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिता यसै महिना हुनेछ।
भरतपुर फुटबल क्लब बिएफसीले आयोजना गर्न लागेको प्रतियोगिता भदौ २७ देखि असोज ३ गतेसम्म चल्नेछ ।
आयोजक बिएफसीले आज पत्रकार सम्मेलनमार्फत प्रतियोगिता बारे जानकारीसँगै खेल तालिका पनि सार्वजनिक गरेको छ ।
नेपाल प्रहरी शिक्षालय भरतपुर तालिमकेन्द्रमा हुने प्रतियोगितामा २ विदेशीसहित ८ टोली सहभागी हुनेछन् । प्रतियोगितामा चितवनमा नै पहिलो पटक मलेसिया र भुटानको टोली सहभागी हुन लागेका हुन् ।
मलेसियाको एन पेनाङ एफसी, भुटानको पक्षम फुटबल क्लबसँगै एपिएफ फुटबल क्लब , सातदोबाटो युवा क्लब ललितपुर, रेडहर्स एफसी ईलाम, देवदह ब्वाईज रुपन्देही, एप्पल गुरु सूर्यपुर फुटबल क्लब कालिका र आयोजक भरतपुर फुटबल क्लब बिएफसी प्रतियोगितामा सहभागी हुनेछन् ।
सहभागी टोलीलाई २ समूहमा विभाजन गरिएको छ । प्रतियोगिताको पहिलो खेलमा भदौ २७ गते आयोजक बिएफसी भुटानी टोली पक्षमसँग भिड्नेछ । खेल दिउँसो ३ बजे सुरु हुने प्रतियोगिता संयोजक धुर्व भुसालले जानकारी दिए ।
यस्तै २८ गते सूर्यपुर एफसी र सातदोबाटो काठमाडौं, २९ गते देवदह ब्वाईज र रेडहर्स ईलाम तथा ३० गते एनपेनाङ र एपिएफ भिड्नेछन् । भदौ ३१ गते पहिलो र असोज १ गते दोस्रो सेमिफाइनल हुनेछ भने फाइनल खेल ३ गते हुनेछ ।
प्रतियोगिताको विजेताले ट्रफीसहित ६ लाख तथा उपविजेताले ३ लाख रुपैयाँ प्राप्त गर्नेछ । यस्तै प्रतियोगिताभरको उत्कृष्ट खेलाडीले २० हजार र विधागत उत्कृष्टले समान १० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
हरेक दिनको प्लेयर अफ दि म्याचले केल्मी चितवनको तर्फबाट ५ हजार बराबरको पुरस्कार प्राप्त गर्नेछ । प्रतियोगिताको पहिलो चरणदेखि सेमिफाइनलसम्मको खेल हेर्नका लागि १ सय तथा फाइनलको लागि २ सय रुपैयाँको टिकट दर तोकिएको छ ।



