काठमाडौं । सभामुख डोलप्रसाद अर्याल (डीपी)ले बाढीपहिरो प्रभावित नागरिकलाई केन्द्रमा राखेर राहत, उद्धार तथा पुनःस्थापनाको काम प्रभावकारी बनाउन आग्रह गर्नुभएको छ ।
नुवाकोटस्थित होल्डिङ सेन्टरको अवलोकनका क्रममा सभामुख अर्यालले राहत वितरणमा एकद्वार प्रणाली लागू गरी स्थानीय तहका वडामार्फत वितरण गर्नुपर्ने जनाउनुभयो ।
राहत जनतासम्म पुग्न नसके त्यसको अर्थ नहुने भन्दै उहाँले विपद्पछि महामारी फैलिन सक्ने भएकाले फोहोर व्यवस्थापन र सरसफाइमा तत्काल ध्यान दिनुपर्ने धारणा राख्नुभयो ।
“पीडितहरू आक्रोशित हुनु स्वाभाविक हो, अहिले दोषारोपणभन्दा उनीहरूको पीडामा मलम लगाउँदै उद्धार, राहत र सहयोगलाई पहिलो प्राथमिकता दिऔँ । स्थानीय सरकारसहित सबै निकायबीच समन्वय र व्यवस्थापन प्रभावकारी बनाउँदै, आधिकारिक सूचना प्रवाहमार्फत भ्रम हटाएर विपद् व्यवस्थापनमा सुधार गरौँ । राहत वितरण एकद्वार प्रणालीबाट गरौँ । पालिकाका वडामार्फत वितरण गरौँ,” उहाँले भन्नुभयो ।
उहाँले बाढीका कारण परिवारका सदस्य गुमाएका तथा घरजग्गा नै गुमाएका नागरिक अहिले आक्रोशित हुनु स्वाभाविक भएको बताउँदै तत्काल पीडितलाई राहत र भरोसा दिनुपर्नेमा जोड दिनुभयो । प्रभावितलाई आवश्यक परे सहुलियतमा भाडाको व्यवस्था गरी अस्थायी रूपमा राख्न सकिने उहाँको धारणा थियो ।
सभामुख अर्यालले विपद् व्यवस्थापनमा स्थानीय सरकारलाई अग्रपंक्तिमा राखेर राज्यका अन्य निकायलाई सहयोगी भूमिकामा परिचालन गर्नुपर्ने जनाउनुभयो । राहत तथा उद्धारमा समन्वय र व्यवस्थापन कमजोर देखिएको उल्लेख गर्दै उहाँले आधिकारिक सूचना नियमित रूपमा सार्वजनिक गर्न सके भ्रम हटाउन सकिने जनाउनुभयो ।
“राज्य भनेको मन्त्री मात्रै हो भन्ने सिकाएका छौँ । सबैसँग समन्वय हुनुपर्छ । सूचना सही ढंगले दिनुपर्छ,” उहाँले भन्नुभयो । उहाँले काठमाडौंदेखि नुवाकोटसम्म देखिएको समस्या मुख्यतः व्यवस्थापन र समन्वयसँग जोडिएको बताउँदै कर्मचारी वा अन्य स्रोतसाधन आवश्यक भए माग गर्न आग्रह गर्नुभयो । “पैसा आएको छ भने खर्च गरौँ । भनेको ठाउँमा दुई दिनसम्म स्काभेटर नपुग्ने अवस्था हुनुहुँदैन,” उहाँले भन्नुभयो ।
सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले विपद्को समयमा एक घन्टा पनि समय खेर नफाल्न सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ ।
उहाँले समस्या देखिए तत्काल समन्वय गरेर समाधान गर्नुपर्ने जनाउँदै बेत्रावती पुल, झोलुङ्गे पुल तथा बेलिब्रिज निर्माण र सडक सम्पर्क पुनःस्थापनालाई प्राथमिकता दिनुपर्ने धारणा राख्नुभयो । “हामी घुम्न आएको होइन, समन्वय गर्न र सहयोग गर्न आएका हौँ,” उहाँले भन्नुभयो, “संकटको बेला सरकार सम्पूर्ण रूपमा परिचालित छ । होल्डिङ सेन्टर र फिल्डमा प्रभावकारी उपस्थिति, ड्रोनमार्फत खोजी तथा तुइन, झोलुङ्गे पुल र बेलिब्रिज जोड्ने कामलाई तीव्रता दिऔँ ।”
मन्त्री तिमिल्सिनाले प्रभावित क्षेत्रमा ड्रोनको प्रयोग भइरहेको, तुइन जोडिएको र बेलिब्रिज निर्माणको काम अघि बढिरहेको जानकारी दिनुभयो । होल्डिङ सेन्टर तथा फिल्डमै आवश्यक जनशक्ति र स्रोतसाधन परिचालन गर्नुपर्ने उहाँको भनाइ थियो ।
नुवाकोटका प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले जिल्लामा संयुक्त रूपमा राहत तथा उद्धारको काम भइरहेको जानकारी दिनुभयो । उहाँका अनुसार पहिलो चरणमा उद्धारलाई प्राथमिकता दिइएको थियो भने घाइतेको अवस्था सामान्य छ । उहाँले राहत पर्याप्त मात्रामा आए पनि नदीपारिका क्षेत्रमा अपेक्षाकृत कम राहत पुगेको बताउनुभयो । राहत वितरणमा एकरूपता आवश्यक रहेको उहाँको भनाइ छ ।
बाढीपहिरोमा मृत्यु भएकाहरूको शव व्यवस्थापन चुनौतीपूर्ण बनेको पनि उहाँले जानकारी दिनुभयो ।
रसुवाबाट समेत शव नुवाकोट ल्याइएकाले व्यवस्थापन थप चुनौतीपूर्ण भएको उहाँले बताउनुभयो । ढुंगे र बेत्रावती क्षेत्रमा घरभित्र पुरिएका शव अझै उत्खनन गर्न बाँकी रहेको रेग्मीको धारणा छ । प्रभावित परिवारलाई सम्बन्धित जिल्लामै व्यवस्थापन गर्ने गरी तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी रेग्मीले बताउनुभयो । त्यसका लागि विज्ञसहितको समिति गठन गरी प्रभावितलाई कति र कुन मापदण्डमा जग्गा उपलब्ध गराउने भन्ने विषयमा गृहकार्य भइरहेको उहाँले जानकारी गराउनुभयो ।
सडक सम्पर्क पुनःस्थापना भए राहत तथा उद्धारमा थप सहज हुने भन्दै उहाँले सडक विभागबाट काम भइरहेको बताउनुभयो । रसुवाको तुलनामा नुवाकोटको भूगोल केही सहज भए पनि खराब मौसमका कारण उद्धार तथा व्यवस्थापनमा चुनौती रहेको उहाँले जनाउनुभयो ।


