काठमाडौं । ललितपुर महानगरपालिकाले चिकित्सकसहितको एम्बुलेन्स सेवा सुरू गरेको छ ।
आकस्मिक अवस्थाका बिरामीलाई घटनास्थलबाट अस्पतालसम्म पुर्याउँदा आवश्यक प्रारम्भिक उपचार उपलब्ध गराउने उद्देश्यले महानगरले नयाँ सेवा सञ्चालनमा ल्याएको हो ।
चिकित्सकसहित निःशुल्क एम्बुलेन्स सेवाको सोमबार एक कार्यक्रमकाबीच स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले सुभारम्भ गरेकी छन् । मन्त्री मेहताले ललितपुर महानगरपालिकाले चिकित्सकसहितको एम्बुलेन्स सेवा सञ्चालन ल्याएर उदाहरणीय कामको शुरुवात गरेको जनाइन् ।
चिकित्सकसहितको एम्बुलेन्स सेवा सञ्चालनले आकस्मिक बिरामीको उपचारमा थप प्रभावकारिता ल्याउने उनको भनाई छ । आकस्मिक उपचारमा ‘गोल्डेन टाइम’ महत्त्वपूर्ण हुने उल्लेख गर्दै उनले घटनास्थलबाट अस्पतालसम्म पुग्ने समय घटाउन सकेमा धेरै गम्भीर क्षति रोक्न सकिने जनाइन् ।
ट्राफिक जाम तथा अन्य अवरोधका कारण अस्पताल पुग्न ढिलाइ हुँदा बिरामीको अवस्था जटिल बन्ने गरेको उनको भनाई छ । ललितपुर महानगरपालिकाको स्वास्थ्यसम्बन्धी पहलमा मन्त्रालयले आवश्यक सहजीकरण र सहयोग गर्ने प्रतिबद्धता पनि उनले जनाइन् ।
उनले भनिन्,‘ललितपुर महानगरपालिकाले एउटा साँच्चिकै उदाहरणीय काम गर्न स्टार्ट गर्नुभएको छ । एम्बुलेन्स सर्भिस दिनु भनेको ठुलो कुरा होइन, धेरै नगरपालिकाहरुले पक्कैपनि प्रदान गरिरहनुभएको छ, तर एम्बुलेन्स सर्भिस विथ पारा-मेडिक्स मात्र होइन, एउटा अझै मेडिकल अफिसर या सुरक्षाकर्मीलाई नै स्वास्थ्यकर्मीलाई नै सँगै राखेर यो सर्भिस एडभाइस स्टार्ट गर्नु, सायद संसारमा फ्यु कन्ट्रिजहरुले मात्र यो स्टार्ट गरेको छ, त्यसमध्ये ललितपुर महानगरपालिकाले स्टार्ट गर्नु सबैका लागि गर्वको कुरा हो ।’
ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले फिलिपिन्सको माकातीमा चिकित्सकसहितको एम्बुलेन्स सेवा देखेपछि ललितपुरमा पनि यस्तो सेवा शुरु गर्ने अवधारणा अघि बढाइएको बताए । उनकाअनुसार महानगरपालिकाको नवौँ नगरसभाबाट प्रस्ताव पारित भएपछि बजेट व्यवस्थापन गरी सेवा सञ्चालनमा ल्याइएको हो । एम्बुलेन्स सेवा आपत्कालीन अवस्थाका बिरामीका लागि केन्द्रित हुने उनले जानकारी गराए ।
चिकित्सकको उपस्थितिमा घटनास्थलमै प्रारम्भिक उपचार उपलब्ध गराउने र त्यसपछि बिरामीलाई उपयुक्त अस्पताल पुर्याउने व्यवस्था गरिएको उनको धारणा छ । एम्बुलेन्सले फोन आएको १५ मिनेटभित्र घटनास्थल पुग्ने लक्ष्य राखेको छ । एम्बुलेन्स सञ्चालनको लागि महानगरपालिका र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानबीच सहकार्य भएको हो ।
एम्बुलेन्स सेवाका लागि चिकित्सक उपलब्ध गराउने तथा चिकित्सकको सेवा-सुविधासम्बन्धी खर्च महानगरपालिकाले व्यहोर्ने समझदारी भएको छ । बिरामीको इच्छाअनुसार उनीहरूले रोजेको अस्पतालसम्म पुर्याउने व्यवस्था गरिएको छ । नगरप्रमुख महर्जनले महानगरपालिका र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानबीच स्वास्थ्य क्षेत्रमा लामो समयदेखि सहकार्य हुँदै आएको जनाए ।


