काठमाडौं । चिनको शेन्जेन शहर स्थित कोली होटलमा जुलाई १५ देखि २५ सम्म सञ्चालन भइरहेको २८ औं एशियाली युवा बुद्धिचाल प्रतियोगितामा चेस खेलाडी सिएम पुरुषोत्तम सिलवालले सानदार शुरुवात गरेका छन्।
अन्तर्राष्ट्रिय चेस प्रतिस्पर्धाको दोस्रो दिन नेपालका १८ वर्षिय उदीयमान खेलाडी पुरुषोत्तम सिलवालले सम्पन्न तिन चरणको स्पर्धामा एक जीत तथा दुई बराबरी नतिजा आत्मसाथ गरेका छन्। नेपाली २१६३ रेटेड पुरुषोत्तमले दोस्रो खेलमा फिलिपिन्सका २३८५ रेटेड अन्तर्राष्ट्रिय मास्टर एर्का क्रिष्टियन जियान कार्लो र तेस्रो चरणमा भियतनामका २३५४ रेटेड फिडेमास्टर दुवाङ्ग भु आन् सँग खेल बराबरी गरेका छन्।
सिएम सिलवालले पहिलो खेलमा ताइपेइका हुवाङ्ग चुङ्ग याङ्गलाई हराएका थिए। अब चौथो चरणमा उनले सातौं वरियता प्राप्त चाइनिज २३५५ रेटेड छिया जियाछियाङ्ग सँग प्रतिस्पर्धा गर्नेछन्। यसैगरी छात्रा युवा १२ वर्ष तर्फ नेपालका निहाना श्रेष्ठले आफू भन्दा उच्च उज्बेकिस्तानी १९४२ रेटेड डब्लुएफएम खुस्नित दिनोभा हुस्नोराखोनलाई बराबरीमा रोक्न सफल भएका छन्। निहानाले आगामी खेल ताजकिस्तानी खोलोभा अमालसँग खेल्नेछन्। अन्य नेपाली खेलाडी आयुष भण्डारी, अग्रिम शैंजु, श्रेषा दुवालले औसत खेल प्रदर्शन गरि समान एक एक खेल जितेर खातामा अंक जोडेका छन्। ३२ राष्ट्रका ९०० खेलाडी सहभागी प्रतियोगितामा ८ वर्ष देखि १८ वर्षका युवा बिच फरक ६ विधामा छात्र छात्रा उमेर समूह चेस वोर्डमा भविष्य खोजिरहेका छन्।
स्ट्यान्डर्ड क्लासिकल ९० मिनेट ३० सेकेण्ड इन्क्रिमेन्ट समय निर्धारण गरेको अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाल बुद्धिचाल महासंघले ३ छात्र तथा २ छात्रा खेलाडी मेरिट लिष्टका आधारमा सहभागी गराएका थिए। जसमा छात्र तर्फ १८ वर्षमा सिएम पुरुषोत्तम सिलवाल, युवा १४ वर्षमा आयुष चण्डारी, युवा १२ वर्षमा अग्रिम शैंजु तथा छात्रा तर्फ युवा १६ वर्षमा श्रेषा दुवाल र युवा १२ वर्षमा निहाना श्रेष्ठ प्रतिस्पर्धामा छन्।
नेपाल बुद्धिचाल महासंघका अध्यक्ष हेराकाजी महर्जनले नेपाली खेलाडीहरुलाई ट्राकशुट हस्तान्तरण गर्ने क्रममा नेपाल राष्ट्रको झण्डामुनी बसेर चेस खेल मार्फत राष्ट्रको नाम उच्च राख्न निर्देशन गरेका थिए।


