एजेन्सी । फ्रान्सेली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक डिडेर डेसच्याम्प्सले आफ्नो पद छाड्ने भएका छन् । जारी फिफा विश्वकप २०२६ अन्तर्गत यसै साता हुने तेस्रो स्थानको प्ले-अफ खेल फ्रान्सको प्रशिक्षकका रूपमा उनको अन्तिम खेल हुनेछ ।
विख्यात फुटबल पत्रकार फ्याब्रिजियो रोमानोका अनुसार डेसच्याम्प्सको बहिर्गमनसँगै फ्रान्सको नयाँ मुख्य प्रशिक्षकमा लिजेन्ड खेलाडी जिनेदिन जिदान आउने निश्चित भएको छ । रोमानोले जिदानको आगमनलाई आफ्नो चर्चित थेगो ‘हियर वी गो’ मार्फत पुष्टि गरेका छन् ।
डेसच्याम्प्सको नेतृत्वमा फ्रान्सले फुटबल इतिहासमा निकै सुनौलो अध्याय रचेको छ । उनको प्रशिक्षणमा फ्रान्सले सन् २०१८ को विश्वकप उपाधि जितेको थियो भने २०२२ को विश्वकपमा फाइनल तथा जारी २०२६ को विश्वकपमा सेमिफाइनलसम्मको यात्रा तय गरेको थियो । यो सेमिफाइनल पराजयसँगै फ्रान्सेली टोलीसँगको उनको लामो र सफल यात्रामा पूर्णविराम लाग्न लागेको हो ।

