टेक्सास । मोहम्मद सलाहको टिम इजिप्टले शनिबार अस्ट्रेलियालाई टाइब्रेकरमा ४–२ ले हराएर विश्वकप फुटबल २०२६ को प्रिक्वाटरफाइनलमा पुगेको छ । इजिप्टको विश्वकप फुटबलको नकआउट चरणमा यो पहिलो जित भएको छ । निर्धारित समयको खेल १–१ ले बराबरीमा सकिएको थियो । पेनाल्टी सुटआउटमा इजिप्टका होसम अब्डेलमागुइडले निर्णायक गोल गर्नुभयो । अस्ट्रेलियाका गोलरक्षक म्याथ्यु रायनले इजिप्टका चारै पेनाल्टी प्रहार बचाउन सक्नुभएन ।
उहाँलाई पेनाल्टीकै लागि अतिरिक्त समयको अन्तिम समयमा प्याट्रिकको स्थानमा मैदानमा प्रवेश गराइएको थियो । अस्ट्रेलियाका लागि पहिलो पेनाल्टी प्रहार गर्ने ह्यारी साउटरलले गोलपोस्ट माथ बल प्रहार गर्दा इजिप्टले सजिलो भएको थियो । त्यसपछि १८ वर्षीय लुकास हेरिङटनको प्रहार गोलपोस्टमा लागेपछि अब्डेलमागुइडले निर्णायक गोल गर्ने अवसर पाउनुभयो । इजिप्टका लागि पेनाल्टीमा गोल गर्ने अन्य खेलाडीमा मोहम्मद सोबर, रामी राविया र सलाह हुनुहुन्थ्यो । इजिप्टले विश्वकपमा खेलेका चार नकआउटमा पहिलो पटक जित हात पा¥यो भने अस्ट्रेलिया अहिलेसम्म तीन पटक नकआउटमा प्रवेश गरेर पनि जितविहीन छ । इजिप्टले क्वाटरफाइनल पुग्नका लाग अब गत विजेता अर्जेन्टिनाविरुद्ध खेल्ने छ ।
३४ वर्षीय सलाहले अहिले आफू निकै खुसी भएको र यो जित आफ्नो जीवनको सर्वश्रेष्ठ दिनमध्ये एक बताउनुभयो । उहाँ इजिप्टका लागि सर्वाधिक गोलकर्ता होम हसनको ६९ गोलको कीर्तिमानभन्दा एक गोलले मात्र पछाडि हुनुहुन्छ । हसन अहिले इजिप्टका प्रशिक्षकको भूमिकामा हुनुहुन्छ । यसअघि इजिप्टले विश्वकपमै एक मात्र जित प्राप्त गरेको थियो । जुन यसैपालि समूह चरणमा न्युजिल्यान्डविरुद्धको ५–१ को जित थियो । यसअघि खेलको १३ औँ मिनेटमा इमान असाउरको गोलबाट इजिप्टले अग्रता बनाएको थियो । उहाँले गोलपोस्ट नजिकबाट हेड गोल गर्नुभएको हो । खेलको ५५ औँ मिनेटमा इजिप्टले खेललाई बराबरीको स्थितिमा ल्यायो । आइडेन ओ निलले प्रहार गरेको फ्रिकिक हेड गरी जोगाउन खोज्दा इजिप्टका डिफेन्डर मोहम्मद हानीले आफ्नो गोलपोस्टमा बल छिराउनुभयो । विश्वकपमा दुई आत्मघाती गोल गर्ने हानी पहिलो खेलाडी बन्नुभएको छ । यसअघि समूह चरणमा बेल्जियमविरुद्धको खेलमा पनि हानीले आत्मघाती गोल गर्नुभएको थियो ।
अस्ट्रेलियाले अहिलेसम्म तीन नकआउट खेलेको छ । नकआउट चरणमा अस्ट्रेलियाले गरेका दुवै गोल आत्मघाती रूपमा प्राप्त भएका हुन् । सन् २००६ को विश्वकपमा अस्ट्रेलियाले इटालीसँग १–० ले हार बेहोरेको थियो । चार वर्षअघि कतारमा भएको विश्वकपमा अर्जेन्टिनासँग २–१ ले हार्दा पनि अस्ट्रेलियाले आत्मघाती गोल उपहारस्वरूप पाएको थियो । एपी


