चितवन । तीन दिनमा सक्ने भनिएको रास्वपा महाधिवेशन आज छैटौं दिन पनि जारी छ । आज पदाधिकारी निर्वाचित गरेर महाधिवेशन सम्पन्न गर्ने तयारी छ । असार ७ गतेदेखि चितवनमा रास्वपाको पहिलो महाधिवेशन उदघाटन भएको थियो ।
असार ९ गते सम्पन्न गर्ने भनिए पनि प्रतिनिधि चयनमा विवाद र केन्द्रीय सदस्य तथा पदाधिकारी चयन ढिलाइ हुँदा महाधिवेशन लम्बिएको हो । महाधिवेशन लम्बिएर खर्च व्यवस्थापनमा कठिनाइ भएपछि आजको लागि व्यवस्थापनले खाना नखुवाउने जनाएको छ ।
हिजो राति व्यवस्थापनले बिहानको चिया मात्र व्यवस्था गर्ने जानकारी गराएको थियो । रास्वपा सभापतिमा रवि लामिछाने यसअघि निर्विरोध भइसके पनि पदाधिकारी पदका उम्मेदवारहरूको अन्तिम नामावली अझै सार्वजनिक गरिएको छैन । केही असन्तुष्टिका बीच विहीबार केन्द्रीय सदस्यहरुको निर्वाचन परिणाम भने सार्वजनिक गरिएको थियो ।
रास्वपा विधानमा पहिले सभापति र केन्द्रीय सदस्य चयन गरिसकेपछि बल्ल पदाधिकारी चयन गर्ने व्यवस्था छ । तर महाधिवेशन लम्बिएका कारण महाधिवेशन प्रतिनिधि धमाधम घर फर्किएपछि आज पदाधिकारी सर्वसम्मत घोषणा गर्ने र महाधिवेशन सम्पन्न गर्ने तयारी छ ।


