काठमाडौं । रास्वपाको महाधिवेशन लम्बिने भएको छ । बन्द सत्र सुरु हुन ढिला भइरहँदा प्रवक्ता मनिष झाले सञ्चारकर्मीसँग कुराकानी गर्दै एक दिन ढिला हुनसक्नेमा आफूहरू तयार रहेको बताए ।
विविध कारणले ढिला हुनसक्नेबारे यसअघि बसेको केन्द्रीय समिति बैठकमा पनि छलफल भएको उनले बताए ।
यद्यपि बन्द सत्र ढिलो हुँदा आफूहरू नआत्तिएको उनले बताए । ‘बन्द सत्र ढिला भएर हामी आतिएका छैनौं । यसलाई स्वभाविक रुपमा लिएका छौं । यस्ता यस्ता सम्भावनाका कारण एक दिन लम्बिन सक्छ है भनेर हामीले अस्ति केन्द्रीय समितिको बैठकमा पनि चर्चा गरेका थियौं । त्यसैले मानसिक रुपमा हामी तयार छौं,’ प्रवक्ता झाले भने।
साथै, उनले महाधिवेशन प्रतिनिधिको संख्या पनि बढेको जानकारी दिए । सोमबार बिहानसम्म करिब ४ हजार ३ सय प्रतिनिधि पुगेको अपडेट आफूले पाएको उनले बताए ।
यद्यपि मधेश प्रदेशका प्रतिनिधिहरू केही छुटेको र सोही छुटेकालाई समावेश गर्नेगरी गृहकार्य भइरहेको उनले बताए ।
‘बन्द सत्र सुरु हुन्छ । तर अलि विलम्ब भइसकेको छ । अहिले हामीले हिजोको सूची अनुसारको दर्ता सुरुवात गरेका छौं,’ उनले भने, ‘जति छुटेको छ अर्को टिमले त्यसमा होमवर्क गरौं भनेर गरेका छौं ।’


