अमेरिका। दक्षिणी क्यालिफोर्नियास्थित एडवाड्र्स एयर फोर्स बेसबाट उड्ने बित्तिकै अमेरिकी वायुसेनाको बी–५२ बमवर्षक विमान दुर्घटनाग्रस्त हुँदा बोइङ कम्पनीका दुई कर्मचारीसहित आठ जनाको मृत्यु भएको छ । यो दुर्घटना सोमबार स्थानीय समयअनुसार बिहान ११ः२० बजे नियमित परीक्षण उडानका क्रममा भएको हो । विमान दुर्घटनापछि ठूलो मात्रामा कालो धुवाँको मुस्लो आकाशमा फैलिएको थियो, जुन धेरै टाढासम्म देखिएको थियो ।
कर्नेल जेम्स हेय्सले घटनालाई ‘भयानक त्रासदी’ भन्दै यसमा सेना, सरकारी कर्मचारी तथा सरकारी ठेकेदारहरू गरी ‘आठ महान अमेरिकी’ गुमाएको बताए । यसअघि बेस प्रशासनले प्रारम्भिक संकेतहरूका आधारमा दुर्घटनाबाट कोही पनि जीवित बच्न नसक्ने जनाएको थियो ।
मृतकका परिवारजनलाई जानकारी दिने प्रक्रिया जारी रहेको र त्यसको २४ घण्टापछि उनीहरूको नाम सार्वजनिक गरिने कर्नेल हेय्सले जानकारी गराए । उनका अनुसार दुर्घटना एयर बेसभित्रकै रनवे क्षेत्रमा भएको थियो र विमान उड्ने बित्तिकै दुर्घटनाग्रस्त भएर आगो लागेको थियो । बी–५२ विमानले बेसको रडार आधुनिकीकरण कार्यक्रममा सहयोग गरिरहेको थियो । प्रारम्भिक भिडियो फुटेजको अध्ययनपछि दुर्घटनालाई ‘उद्धार सम्भव नभएको र कसैको पनि ज्यान बच्न नसक्ने’ प्रकारको मानिएको हेय्सले जनाइएकाे छ ।
दुर्घटनाको कारण अझै खुल्न सकेको छैन । प्रारम्भिक अनुसन्धान पूरा हुन करिब ३० दिन लाग्न सक्ने र विस्तृत कारण विश्लेषणका लागि छ महिनाभन्दा बढी समय लाग्न सक्ने जनाइएको छ ।
बोइङ कम्पनीले पनि आफ्ना दुई कर्मचारी विमानमा सवार रहेको पुष्टि गर्दै उनीहरूका परिवारसँग सम्पर्कमा रहेको जनाएको छ । क्यालिफोर्नियाका गभर्नर गेभिन न्युसमले घटनालाई ‘दुःखद’ भन्दै मृतकका परिवार तथा एडवाड्र्स एयर फोर्स बेस समुदायप्रति समवेदना व्यक्त गरेका छन् । हवाई दृश्यहरूमा दुर्घटनास्थल वरिपरि जलेको र अझै धुवाँ निस्किरहेको क्षेत्र देखिएको थियो ।


