काठमाडौं । बैंकिङ कसुर र ठगी मुद्दामा फरार रहेकी सामाजिक सञ्जाल टिकटककी चर्चित प्रयोगकर्ता (टिकटकर) तुलसा अधिकारीलाई थाइल्याण्डबाट पक्राउ गरी नेपाल ल्याइएको छ।
उनलाई अहिले ललितपुर प्रहरीको हिरासतमा राखेर कानुनी कारबाही अगाडि बढाइएको प्रहरीले जनाएको छ। अधिकारीविरुद्ध ६ करोड ५२ लाख २९ हजार ७५ रुपैयाँ ठगी र सम्पत्ति शुद्धीकरणको मुद्दा दायर भएको थियो।
ललितपुरको सातदोबाटोस्थित ‘हाम्रो अटोमोबाइल्स’का सञ्चालक कुमार चिमोरियाले उनीविरुद्ध प्रहरी वृत्त सातदोबाटोमा ठगी तथा आपराधिक विश्वासघातको कसुरमा गत साउन महिनामै उजुरी दर्ता गराएका थिए।
उजुरी परेलगतै अधिकारी फरार भई विदेश भागेको खुलेपछि उनलाई नेपाल फर्काउन प्रहरीले अन्तर्राष्ट्रिय आपराधिक प्रहरी संगठन (इन्टरपोल) मार्फत ‘रेड नोटिस’ जारी गरेको थियो।
अनुसन्धानका क्रममा उनको बैंक खाता जाँच गर्दा अस्वाभाविक रूपमा ठूलो रकमको कारोबार फेला परेको थियो। ठगीसँगै वित्तीय अपराधको बलियो प्रमाण भेटिएपछि प्रहरीले उनीमाथि सम्पत्ति शुद्धीकरण (मनि लाउन्डरिङ) को कसुरमा समेत अनुसन्धान प्रक्रिया अघि बढाएको छ।
थाइल्याण्डमा पक्राउ परेसँगै अब उनीमाथिका दुवै मुद्दामा विस्तृत छानबिन हुने प्रहरीले जनाएको छ।


