मुम्बई । भारतीय सुरक्षा रणनीतिमा प्रयोग हुने कतिपय कुरालाई चलचित्रमा ल्याइदिँदा सुरक्षा खतरा बढ्ने गरेको छ । कतिपय अपराधहरू चलचित्रमा प्रस्तुत गरिएको कथा अनुसार हुने गरेका छन् ।
यस्तै भारतकै चलचित्र इतिहासमा सर्वाधिक व्यापार गर्न सफल यस वर्षको चलचित्र ‘धुरन्धर २’ले भारतीय सशस्त्र बलको गोप्य अपरेसनसँग सम्बन्धित जानकारी देखि ‘कोड वर्ड’ सहित अप्रेसनको सुरक्षित गोप्य स्थानसम्मलाई देखाएको छ । यसले आफूहरूको सीमा सुरक्षा लगायतको अप्रेसनको गोपनीयतालाई यसले भंग गरेको र जसका कारण सीमा सुरक्षामा पाकिस्तानलाई फाइदा पुग्ने दाबी भारतीय सीमा सुरक्षा बालले गरेको छ ।
यस्ता कुराहरूलाई सेन्सरले किन ध्यान दिन नसकेको भनेर प्रश्न समेत उठाएको छ । विगतका विभिन्न चलचित्रकै कारण अपराध र जासुसी सुरक्षामा खतरा पुगेको पनि सीमा बलले उल्लेख गरेको छ । हुन पनि १९८९ मा रिलिज भएको तेलुगु चलचित्र ‘स्टेट राउडी’ हेरेर सोही चलचित्रको अपराध शैलीलाई अपनाउँदै २१ मे १९९१मा तात्कालिक प्रधानमन्त्री राजीव गान्धीको हत्या गरिएको थियो । बी. गोपालद्वारा निर्देशित अभिनेता चिरञ्जीवीको यो चलचित्र आएपछि यसैलाई अनुसरण गर्दै राजीव गान्धीको हत्या भएको रिपोर्ट प्रहरीले सार्वजनिक गरेको थियो । त्यसपछि भारतमा भिआइपीको सुरक्षाको लागि प्रहरीलाई थप चुनौती बढेको थियो ।
यस्तै विदेशी एजेन्टहरूलाई आफ्नो प्रेममा फसाई गोप्य सम्बन्धमा पारेर सम्बन्धित देशको गोप्य सूचना लिन विगतमा ‘हनि ट्रयाप सेक्रेट एजेन्ट’को रूपमा सुन्दर जासुसी युवती पठाइन्थ्यो । यो कार्य भारतले पनि गथ्र्यो । तर सलमान खानको चलचित्र ‘एक था टाईगर’मा ‘हनि ट्रयाप सेक्रेट एजेन्ट’को प्रयोगबाट कसरी सूचना लिइन्छ भन्ने खुलासा गरेपछि अरू देशको जासुससँग सूचना लिन ‘हनि ट्रयाप सेक्रेन्ट एजेन्ट’को प्रयोग मुस्किल हुँदै गयो । यसले पनि सुरक्षा र जासुसीमा थप जटिलता निम्त्याएको थियो ।
यस्तै समस्या अहिले ‘धुरन्धर २’ले निम्त्याएको भन्दै यसै सम्बन्धमा सीमा सुरक्षा बलका हेड कन्स्टेबल दीपक कुमारले यस चलचित्र विरुद्ध सार्वजनिक हितको मुद्दा दायर गरेका छन् । ‘धुरन्धर २’ ले आधिकारिक गोपनीयता ऐन उल्लंघन गरेको आरोप लगाउँदै उनले मुद्दा दायर गरेका हुन् । मंगलवार यस विषयमा दिल्ली उच्च अदालतले केन्द्र सरकार र केन्द्रीय चलचित्र प्रमाणन बोर्ड (सिबिएफसी) लाई यस विषयमा अनुसन्धान गर्न आदेश दिएको छ ।
यो चलचित्रले भारतीय सशस्त्र बलको गोप्य अपरेसनसँग सम्बन्धित जानकारी खुलासा गरेको आरोप सही हो वा हैन भन्ने निर्देशन अदालतले बोर्डलाई दिएको छ । सो चलचित्रको कारण राष्ट्रिय सुरक्षालाई सम्भावित रूपमा खतरामा पर्ने सम्भावना छ या छैन भनेर पनि अदालतले जवाफ माग गरेको छ ।
यता निवेदकको भनाई अनुसार ‘धुरन्धर २’ ले सीमा बलले सीमा सम्बन्धी गोप्य सुरक्षा दिने धेरै स्थानहरूलाई स्पष्ट रूपमा चित्रण गरेको छ । यसमा विगतमा मिसनमा गएर गोप्य रूपमा दिबंगत धेरै वरिष्ठ अधिकारीहरू र गोप्य मिसनका ज्यान गुमाएका सैनिकहरूसँग सम्बन्धित जानकारीलाई पनि स्पष्ट रूपमा चित्रण गरेको छ । यो राष्ट्रिय सुरक्षाको लागि अत्यन्त गम्भीर र हानिकारक भएको उनीहरुको ठहर छ ।
याचिकामा हेड कन्स्टेबल दीपक कुमारले रक्षा अनुसन्धान तथा विकास संगठनद्वारा विकसित औषधिको समेत उल्लेख गरेर आफूहरूको सुरक्षा नीतिलाई कमजोर बनाउने काम भएको दाबी गरेका छन् ।
दिल्ली उच्च अदालतले यस विषयमा आफूहरूको पूर्ण ध्यानाकर्षण भएको जनाएको छ । प्रधानन्यायाधीश देवेन्द्र कुमार उपाध्याय र न्यायाधीश तेजस कारियाको डिभिजन इजलासले सूचना तथा प्रसारण मन्त्रालय र सेन्सर बोर्डलाई यस विषयमा तत्काल अनुसन्धान गर्न आदेश दिएको छ । उच्च अदालतले सो मुद्दाको चाँडै छानबिन गरेर निर्णय हुने बताएको छ।
उच्च अदालतले भनेको छ, ‘चलचित्र धुरन्धर २ एक काल्पनिक कथामा निर्माण गरिएको भनिए पनि निवेदकले उठाएका प्रश्नहरूलाई बेवास्ता गर्न सकिँदैन र चलचित्रले राष्ट्रिय सुरक्षालाई खलल पार्ने प्रकारको सूचना दिनु नहुने कुरा सेन्सरको ऐनमा समेत उल्लेख छ ।’
अदालतले सेन्सर बोर्डसँग निश्चित दिशानिर्देशहरू हुनुपर्ने कुरालाई ध्यानाकर्षण गराएको छ । आगामी दिनमा यस्ता कुरामा विचारपूर्वक निर्णय लिन समेत अदालतले सेन्सर बोर्डलाई निर्देशन दिएको छ । एजेन्सी


