वीरगन्ज । वीरगन्जबाट एक हप्ताअघि पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाई सोमबार रिहा भएका छन् ।
पर्सा जिल्ला अदालतको आदेशमा प्रसाईलाई सोमबार रिहा गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एंव प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले जानकारी गराए ।
अदालतको आदेश अनुसार उनलाई साधारण तारेखमा रिहा गरिएको उनले बताए । वीरगन्जमा हुने कार्यक्रममा सहभागी हुनका लागि वीरगन्ज आएका बेला प्रसाईंलाई गत सोमबार बेलुकी सिद्धार्थ दियालो होटलबाट प्रहरीले पक्राउ गरेको थियो ।
प्रसाईविरुद्ध गत मंगलबार विद्युतीय ( इलेक्ट्रोनिक ) कारोबार ऐन र राज्य विरुद्धको कसूरमा मुद्दा भलाएर प्रहरी हिरासतमा राखेको थियो । राष्ट्र, राष्ट्रियता धर्म संस्कृति र नागरिक बचाउन महाअभियान नेपालका संयोजक समेत रहेका प्रसाईंलाई प्रहरीले पक्राउ गरेको विरोधमा उनका समर्थकहरुले वीरगन्जमा पटक पटक प्रदर्शन समेत गरेका थिए ।
त्यसक्रममा प्रदर्शनकारी र प्रहरीबीच धकेलाधकेल समेत भएको थियो ।


