काठमाडौं । सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवालाई पक्राउ नगर्न अन्तरिम आदेश दिएको छ । न्यायाधीशहरू महेश शर्मा पौडेल र नित्यानन्द पाण्डेयको इजलासले यस्तो आदेश गरेको हो ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागबाट अनुसन्धान भएको कसुरको मुद्दा हेर्ने क्षेत्राधिकार विशेष अदालतमा रहेको र अध्यादेश जारी हुनुपुर्व काठमाडौं जिल्ला अदालतबाट २०८२ चैत १४ मा जारी पक्राउ पुर्जी स्वतः निष्क्रिय हुने सर्वोच्चको ठहर छ ।
आदेशमा भनिएको छ, ‘सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागबाट अनुसन्धान भएको कसूरको मुद्दा हेर्ने क्षेत्राधिकार विशेष अदालतमा रहेको हुँदा अध्यादेश जारी हुनुपूर्व काठमाण्डौँ जिल्ला अदालतबाट मिति २०८२।१२।२४ मा पक्राउ पूर्जि जारी गर्न दिइएको अनुमति स्वतः निस्कृय हुने देखियो । तसर्थ मिति २०८२।१२।२४ मा काठमाण्डौँ जिल्ला अदालतबाट निवेदकलाई पकाउ गर्न पकाउ पूर्जि जारी गर्ने अनुमति प्रदान गरिएको आधारमा निवेदकहरुलाई पकाउ नगर्नु नगराउनु भनी सर्वोच्च अदालत नियमावली, २०७४ को नियम ४९ बमोजिम विपक्षीहरुका नाउँमा अन्तरिम आदेश जारी गरिएको छ।’
देउवा दम्पत्ति चुनाव अघि नै हङकङतर्फ लागेका थिए । त्यसपछि प्रहरीले रेड कर्नर नोटिस जारी गरेर इन्टरपोलमार्फत पक्राउ गर्ने तयारी समेत गरेको थियो । त्यसपछि उनीहरुका तर्फबाट पक्राउ नगर्न माग गर्दै सर्वोच्चमा रिट दायर गरिएको थियो ।


