काठमाडौं । मकवानपुर, मनहरी गाउँपालिका-७ मनहरी पुल नजिकबाट अवैध लागूऔषध अफिम २५ किलो ९ सय ९० ग्राम गए राति प्रहरीले बरामद गरेको छ । इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरीलाई देख्नासाथ हाल नम्बर नखुलेको २ वटा मोटरसाइकलमा सवार ४ जना अपरिचित व्यक्तिहरूले झोला छाडी फरार भएपश्चात प्रहरीले झोला तलासी गर्दा उक्त लागूऔषध फेला पारी बरामद गरेको हो ।
बारा, जीतपुरसिमरा उपमहानगरपालिका-२१ बाट अवैध लागूऔषध गाँजा जस्तो देखिने वस्तु ३० किलो ८ सय ग्राम सोमबार बिहान प्रहरीले बरामद गरेको छ । इलाका प्रहरी कार्यालय अमलेखगंजबाट खटिएको प्रहरीले हेटौंडाबाट पथलैयातर्फ जाँदै गरेको बा.४६ प ६५९४ नम्बरको मोटरसाइकललाई जाँच गर्न खोज्दा मोटरसाइकलमा सवार २ जना अपरिचित व्यक्तिहरूले झोला फाली फरार भएपश्चात प्रहरीले झोला तलासी गर्दा उक्त लागूऔषध फेला पारी बरामद गरेको हो ।
प्रहरीले हाल फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।


