काठमाडौं । सप्तरी, खडक नगरपालिका-५ रंजितपुर टोल बस्ने नविन चौधरीकी छोरी ८ वर्षीया आचल कुमारी चौधरीको सोही ठाउँस्थित पोखरीमा डुबेर आइतबार दिउँसो मृत्यु भएको छ । नुहाउने क्रममा डुबेर अशक्त भएकी उनको गजेन्द्र नारायण सिंह अस्पताल राजविराजमा उपचारको क्रममा मृत्यु भएको हो ।
गुल्मी, मुसिकोट नगरपालिका-४ दिगामचौर चेप्टेढुङ्गा बर्डिगार्ड खोलामा डुबेर सोही नगरपालिका-४ गजुङ्गा बस्ने भीम बहादुर रेश्मीको छोरा १२ वर्षीय मदन रेश्मीको आइतबार दिउँसो मृत्यु भएको छ ।
सिन्धुली, सुनकोशी गाउँपालिका-५ सित्खास्थित सुनकोशी नदीमा डुबेर सुनकोशी गाउँपालिका-३ बोहोरेटार बस्ने सोही गाउँपालिका-४ घर भएका दल बहादुर पुलामी मगरको छोरा ९ वर्षीय सफल पुलामी मगर र सोही गाउँपालिका-५ बन्दीपुर घर भएकी सरिता विकको छोरा १० वर्षीय युकेस विकको आइतबार दिउँसो मृत्यु भएको छ । पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय खुर्कोट, प्रहरी चौकी रातामाटा समेतबाट खटिएको प्रहरीले स्थानीयको सहयोगमा खोजी गर्ने क्रममा उनीहरूको शव फेला परेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


