काठमाडौं । संयुक्त अधिराज्य (बेलायत) की इण्डो–प्यासिफिक राज्यमन्त्री सीमा मल्होत्राले नेपाल र बेलायतबीचको ऐतिहासिक सम्बन्धलाई थप सुदृढ र आधुनिक बनाउन शिक्षा, सीप विकास र आर्थिक सहकार्य मुख्य आधार रहेको जनाएकी छन्।
आफ्नो पहिलो नेपाल भ्रमणका क्रममा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले दुई देशबीचको २०० वर्षभन्दा पुरानो मित्रता र १०० वर्षअघि हस्ताक्षरितमैत्री सन्धिलाई नयाँ उचाईमा पुर्याउने प्रतिवद्धता व्यक्त गरिन्।
मन्त्री मल्होत्राले नेपालको शिक्षा क्षेत्रमा बेलायतले विगत ७० वर्षदेखि निरन्तर सहयोग गर्दै आएको स्मरण गराइन्। मन्त्री मल्होत्राले शिक्षा र अर्थतन्त्र एकअर्कासँग अभिन्न रूपमा जोडिएको उल्लेख गरिन्। नेपाल सरकारले अघि सारेको आर्थिक वृद्धि र रोजगारी सिर्जनाको लक्ष्यलाई सघाउन बेलायत इच्छुक रहेको उनको धारणा छ।
बेलायतले आफ्नै देशमा लागू गरेको ‘औद्योगिक रणनीति’ र ‘स्किल्स इङ्गल्याण्ड’ को अवधारणालाई नेपालको आवश्यकताअनुसार साझेदारी गर्न सकिने उनले जनाइन्।
नेपाली विद्यार्थीले नेपालमै बसेर बेलायती विश्वविद्यालयको शैक्षिक योग्यता हासिल गर्न सकिने ‘ट्रान्सनेशनल एजुकेसन’ को महत्वमाथि प्रकाश पार्दै मन्त्रीले यसले प्रतिभा पलायन रोक्न र लागत कम गर्न मद्दत गर्ने धारणा राखिन्।
उनले हाल नेपालका ३० वटा क्याम्पससँग १९ वटा बेलायती विश्वविद्यालयले सहकार्य गरिरहेको र १७ हजारभन्दा बढी नेपाली विद्यार्थी लाभान्वित भइरहेको जानकारी दिइन्। मन्त्री मल्होत्राले बेलायतमा रहेका नेपाली समुदायले दुई देशबीच ‘लिभिङ ब्रिज’ को काम गरिरहेको जनाइन्।
बेलायतमा नेपाली मूलका व्यक्तिहरू स्थानीय राजनीति र व्यावसायिक क्षेत्रमा सफल हुँदै गएकोमा खुशी व्यक्त गर्दै उनले बेलायत पढ्न जाने नेपाली विद्यार्थी छैटौँ ठूलो अन्तर्राष्ट्रिय समूह हुनु गौरवको विषय रहेको उल्लेख गरिन्।


