काठमाडौं । प्रतिनिधिसभा बैठक सुरु भएको छ । बिहीबार बिहान ११ बजेबाट सुरु भएको बैठकमा विभिन्न महत्त्वपूर्ण विधेयकहरूमाथि छलफल तथा पारित गर्ने कार्यसूची तय भएको छ ।
संघीय संसद् सचिवालयले सार्वजनिक गरेको कार्यसूचीअनुसार बैठकमा निर्वाचन, विधि विज्ञान र विकास वित्तसँग सम्बन्धित विधेयकहरू प्रस्तुत गरिनेछन् ।
बैठकमा प्रधानमन्त्री, गृह मन्त्री तथा विज्ञान, प्रविधि र नवप्रवर्तन मन्त्री बालेन्द्र साहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले तीनवटा विधेयक प्रस्तुत गर्नुहुने कार्यक्रम रहेको छ ।
मन्त्री गौतमले ‘प्रतिनिधि सभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक, २०८३’, ‘मतदाता नामावली (पहिलो संशोधन) विधेयक, २०८३’ र ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ ।
त्यसैगरी आर्थिक क्षेत्रसँग सम्बन्धित ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२’ माथि पनि सदनमा छलफल हुने कार्यसूची रहेको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले उक्त विधेयकमाथि दफावार छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ ।
विधेयकमाथि प्राप्त संशोधनहरूलाई निर्णयार्थ प्रस्तुत गरिसकेपछि अर्थमन्त्री वाग्लेले ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२’ पारित गरियोस् भन्ने प्रस्ताव बैठकमा पेश गर्नुहुने संसद् सचिवालयले जनाएको छ ।


