काठमाडौं । चलचित्रको घोषणा भयो, छायांकन सुरु भयो र अन्तिम चरणमा पनि पुग्यो । तर, निर्माण पक्षले एउटा कुरा भने निकै सचेततापूर्वक गोप्य राख्यो, चलचित्रका कलाकार । कुन कलाकारले अभिनय गरिरहेका छन् भन्ने कुतूहलताका बीच चलचित्र ‘बाः एक योद्धा’ को निर्माण टिमले अन्ततः आफ्ना मुख्य पात्रहरू सार्वजनिक गर्न थालेको छ ।
यसअघि कलाकारका बारेमा कुनै पनि औपचारिक जानकारी नदिएको निर्माण पक्षले छायांकनको अन्तिम समयमा आएर अभिनेता दिव्यदेव पन्तलाई मुख्य भूमिकामा अनुबन्धित गरिएको जानकारी गराएको हो ।
गत चैत्र ९ गतेदेखि छायांकन सुरु भएको यस चलचित्रले सुरुवाती दिनदेखि नै कलाकारको नामलाई लिएर ‘सस्पेन्स’ कायम राखेको थियो । तर, केही दिनअघि छायांकन सेटबाट अभिनेत्री झरना थापा र उनकी छोरी सुहाना थापाका तस्वीरहरू सार्वजनिक भएसँगै कलाकारका विषयमा रहेको अन्योल हटेको थियो ।
झरना र सुहानाले पहिलो पटक पर्दामा एकसाथ अभिनय गर्न लागेका हुन् । विशेष कुरा त के छ भने, वास्तविक जीवनका यी आमा-छोरी चलचित्रमा पनि आमा र छोरीकै भूमिकामा देखिनेछन् ।
अब दिव्यदेवको नाम सार्वजनिकपछि चलचित्रको कलाकार टोली निकै सन्तुलित र बलियो देखिएको छ । निर्माण पक्षले उनको के कस्तो भूमिका हो भन्ने बारेमा अझै खुलाएको छैन ।
नेपाली संगीत क्षेत्रमा दर्जनौँ कालजयी गीतहरू दिइसकेका चर्चित संगीतकार हरि लम्सालले यसै चलचित्रमार्फत निर्देशनमा डेब्यु गरेका छन् । संगीत र गायनमा स्थापित लम्सालले यो चलचित्रको कथा र पटकथा समेत आफैँले तयार पारेका हुन् । लामो समयको सांगीतिक यात्रापछि उनी सामाजिक र भावना प्रधान कथा बोकेर निर्देशनको मैदानमा उत्रिएका हुन् ।
यो चलचित्रले नेपाली समाजको एउटा अत्यन्तै मार्मिक र यथार्थपरक कथालाई समेट्ने प्रयास गरेको छ । नामले नै स्पष्ट पारेझैँ, यो एक बाबुको कथा हो । एउटा बाबुले आफ्नो सन्तानको भविष्य उज्ज्वल बनाउनका लागि गर्ने अथक त्याग, जीवनभर झेल्ने चुनौती र संघर्षलाई फिल्मको मुख्य कथावस्तु बनाइएको छ ।
निर्देशक लम्सालका अनुसार, यो केवल मनोरञ्जन मात्र नभई बाबुको अस्तित्व र महत्त्वलाई दर्शाउने एक शुद्ध सामाजिक र भावनात्मक सिनेमा हो ।
‘आर्टिस्टिक इन्टरटेनमेन्ट’को ब्यानरमा निर्माण भइरहेको यो चलचित्रका निर्माता वसन्त लम्साल हुन् । संगीतकार तथा गायक समेत रहेका वसन्तले यसअघि विपिन कार्कीको मुख्य भूमिका रहेको चलचित्र ‘कर्मा’ निर्माण गरेका थिए ।
चलचित्रको छायांकन शिवराम श्रेष्ठले गरिरहेका छन् भने मुख्य सहायक निर्देशकमा तारानाथ न्यौपाने रहेका छन् । हाल काठमाडौंका विभिन्न स्थानमा चलचित्रको अन्तिम चरणको छायांकन भइरहेको छ ।
छायांकनको सम्पूर्ण कार्य सकिएपछि मात्र प्राविधिक पक्ष (पोष्ट-प्रोडक्सन) को काम हेरेर प्रदर्शन मिति घोषणा गर्ने तयारीमा निर्माण पक्ष जुटेको छ ।


