काठमाडौं । काठमाडौंको दशरथ रंगशालामा यही चैत २८ र २९ गते हुने राष्ट्रिय रग्बी सेभेन्स महिला तथा पुरुष प्रतियोगिताको तयारी पूरा भएको छ ।
आयोजक नेपाल रग्बी संघले शुक्रबार पत्रकार सम्मेलन आयोजना गरेर प्रतियोगिताको तयारी पूरा भएको जनाएको हो ।
च्याम्पियन महिला र पुरुष टोलीले समान ५० हजार रुपैयाँसहित ट्रफी जित्नेछन् भने उपविजेताले ३० हजार रुपैयाँ प्राप्त गर्नेछन् । उत्कृष्ट एक–एक महिला र पुरुष खेलाडीलाई ५ हजार रुपैयाँसहित सम्मान गरिनेछ ।
यस प्रतियोगिताबाट आगामी अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि राष्ट्रिय टोली छनोट पनि गरिने संघले जनाएको छ । जापानमा हुने २०औं एसियाली खेलकुद र ताईवानमा हुने एसिया रग्बी इमिरेट्स सेभेन्स ट्रफीका लागि खेलाडी छनोट यसै प्रतियोगिताको आधारमा गरिने भएको हो ।


