काठमाडौं । नेपाल महिला राष्ट्रिय फुटबल टोलीकी मिडफिल्डर प्रीति राई क्याम्बोडियन क्लबमा आबद्ध भएकी छिन्।
नयाँ सिजनका लागि क्याम्बोडियाको क्लब प्रेह खान रीच स्वाय रिएङ एफसीसँग आबद्ध भएको प्रीतिले सामाजिक सन्जालमार्फत जानकारी दिएकी छिन्।
एपिएफकी प्रीति गत सिजन जोर्डनको क्लब इतिहाद क्लबबाट खेलेकी थिइन् । इतिहादबाट खेल्दा उनले जोर्डन महिला प्रो लिग र जोर्डन महिला कप दुबै उपाधि जितेकी थिइन्।
प्रेह खान रीच स्वाय रिएङ प्रीतिको तेस्रो विदेशी क्लब हो। यसअघि उनले भारतको किक स्टार्ट्स एफसीबाट इन्डियन वुमेन्स लिग खेलेकी थिइन्।
प्रेह खान रीच स्वाय रिएङ सन् २०२० मा सुरु भएको क्याम्बोडियन महिला लिगको पहिलो संस्करणको संयुक्त विजेता टोली पनि हो। प्रीति अहिले क्याम्बोडिया पुगिसकेकी छन् ।


