एजेन्सी । प्रधानमन्त्री नरेन्द्र मोदी र फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनबिच आज मुम्बईमा भेटवार्ता हुँदै छ। यस क्रममा दुई देशबीच ३.२५ लाख करोड रुपैयाँको रक्षा सम्झौतामा हस्ताक्षर हुनेछ। यो सम्झौता मूल्यका हिसाबले भारतको सबैभन्दा ठुलो सैन्य खरिद हुने भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्।
यस सम्झौताअन्तर्गत भारतले ११४ राफेल लडाकु विमान प्राप्त गर्नेछ। आजको बैठकमा रक्षा, समुद्री सहयोग, इन्डो-प्यासिफिक रणनीति, उदीयमान प्रविधि, कृत्रिम बुद्धिमत्ता र विश्वव्यापी मुद्दामा छलफल हुनेछ। बैठक दिउँसो ३:१५ बजे मुम्बईको लोक भवनमा हुनेछ। साँझ ५:१५ बजे दुई नेताले भारत-फ्रान्स नवप्रवर्तन वर्ष २०२६ को उद्घाटन गर्नेछन् र दुवै देशका उद्योगपति, स्टार्टअप संस्थापक, अनुसन्धान विज्ञ र नवप्रवर्तन नेताहरूलाई सम्बोधन गर्नेछन्।
राष्ट्रपति म्याक्रोन फेब्रुअरी १७ देखि १९ सम्म भारतको भ्रमणमा रहनेछन्। यस अवधिमा उनी दिल्लीमा एआई प्रभाव शिखर सम्मेलनमा पनि भाग लिनेछन्।


