जर्कार्ता । इन्डोनेसियाको दक्षिण सुलावेसी प्रान्तमा हराएको मत्स्य निगरानी विमानको भग्नावशेष फेला परेको छ । तर विमानमा सवार ११ जना अझै बेपत्ता रहेका इन्डोनेसियाली अधिकारीहरूले आइतबार जानकारी दिएका छन् ।
विमान योग्याकार्ताबाट उडेर दक्षिण सुलावेसीको राजधानी माकास्सारतर्फ जाँदै थियो । विमानमा आठ जना चालक दलका सदस्य र तीन जना यात्रु सवार थिए । यात्रुहरू इन्डोनेसियाको समुद्री मामिला तथा मत्स्य मन्त्रालयका कर्मचारी हुन् । उक्त विमान मन्त्रालयका लागि मत्स्य क्षेत्रको हवाई निगरानी गर्न चार्टर गरिएको थियो ।
भग्नावशेष फेला परेपछि खोज तथा उद्धार कार्य तीव्र बनाइएको दक्षिण सुलावेसीको उद्धार एजेन्सी प्रमुख मुहम्मद आरिफ अनवरले बताएका छन् । उनका अनुसार करिब १ हजार २०० जना उद्धारकर्मी परिचालन गरी बेपत्ता चालक दल र यात्रुको खोजी गरिनेछ । ‘हाम्रो प्राथमिकता पीडितहरूको खोजी हो, केहीलाई सुरक्षित रूपमा उद्धार गर्न सकिने आशा छ,’ उनले स्थानीय टेलिभिजनलाई बताएका छन् ।
आइतबार बिहान उद्धार टोलीले मारोस क्षेत्रस्थित माउन्ट बुलुसाराउङ क्षेत्रका विभिन्न स्थानमा विमानका टुक्रा फेला पारेको जनाएको छ । उद्धार एजेन्सीका अधिकारी अन्दी सुल्तानका अनुसार बिहान ७ः ४६ बजे हेलिकप्टर टोलीले विमानको झ्यालको टुक्रा देखेको थियो ।
त्यसको केही मिनेटपछि विमानको मुख्य भाग र पुच्छरसमेत पहाडको फेदीमा देखिएको उनले बताए । दुर्घटनाको कारणबारे थप अनुसन्धान जारी रहेको छ ।


