एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलामा अमेरिकाले आक्रमण गरेको पुष्टि गरेका छन्।
शनिबार बिहान भेनेजुएलाको राजधानी काराकाससहित चारवटा राज्यमा एकैसाथ भएका विस्फोटलाई उल्लेख गर्दै ट्रम्पले यसलाई अमेरिकाले सञ्चालन गरेको ‘ठूलो र सफल आक्रमण’ भनेका छन्। उनले उक्त कारबाहीमा भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोलाई उनकी श्रीमतीसहित पक्राउ गरी देशबाहिर लगिएको दाबी पनि गरेका छन्।
ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोशलमा लेख्दै भनेका छन्, “संयुक्त राज्य अमेरिकाले भेनेजुएला र यसको नेता राष्ट्रपति निकोलस मदुरोविरुद्धको आक्रमण सफलतापूर्वक सम्पन्न गरेको छ। मदुरोलाई उनकी श्रीमतीसहित पक्राउ गरी देशबाट बाहिर लगिएको छ।”
अमेरिकी पत्रिका द न्युयोर्क टाइम्स का अनुसार भेनेजुएलाको स्थानीय समयअनुसार बिहान करिब २ बजे विस्फोटका आवाजहरू सुनिएका थिए। विस्फोटपछि आकाश रातो देखिएको, विभिन्न स्थानबाट धुवाँका मुस्ला उठेको दृश्यसहितका तस्बिर र भिडियोहरू सामाजिक सञ्जालमा सार्वजनिक भएका छन्।
घटनापछि भेनेजुएलाको सञ्चार मन्त्रालयले विज्ञप्ति जारी गर्दै विस्फोटमा अमेरिकाको संलग्नता रहेको आरोप लगाउँदै कडा शब्दमा निन्दा गरेको छ। विस्फोटपछि राष्ट्रपति मदुरो सार्वजनिक रूपमा नदेखिएको उल्लेख न्युयोर्क टाइम्सले गरेको छ, यद्यपि भेनेजुएलाका अधिकारीहरूले उनको अवस्थाबारे कुनै आधिकारिक जानकारी दिएका छैनन्।
राष्ट्रपति ट्रम्पले यसअघि पनि मदुरोले धाँधली गरेर चुनाव जितेको, लागुऔषध ओसारपसारमा संलग्न रहेको लगायतका आरोप लगाउँदै उनलाई सत्ताबाट हटाउनुपर्ने बताउँदै आएका थिए। उनले मदुरो स्वयं सत्ताबाट हट्नु नै ‘बुद्धिमानी निर्णय’ हुने टिप्पणीसमेत गर्दै आएका थिए।
मदुरोलाई दबाब दिन ट्रम्प प्रशासनले भेनेजुएलामाथि कडा आर्थिक प्रतिबन्ध लगाउनुका साथै तेल ट्यांकरहरू कब्जा गर्ने र क्यारेबियन सागर क्षेत्रमा आक्रमणजस्ता कदम चाल्दै आएको थियो।
यता, राष्ट्रपति मदुरोले भने ट्रम्पका आरोपहरू असत्य रहेको बताउँदै संवादमार्फत समस्या समाधान गर्न आफू तयार रहेको दाबी गर्दै आएका थिए। उनले अमेरिकाले भेनेजुएलाको तेल र प्राकृतिक स्रोतमा आँखा लगाएको आरोप लगाउँदै त्यसलाई कुनै पनि हालतमा स्वीकार नगर्ने स्पष्ट पारेका थिए।


