काठमाडौं । राष्ट्रिय महिला फुटबल टोलीकी मिडफिल्डर दिपा शाहीले बंगलादेशको महिला लिग खेल्ने भएकी छिन्। त्रिभुवन आर्मी क्लबकी दिपाले राजशाही स्टार्स एफसीबाट लिग खेल्न लागेको जानकारी दिएकी छिन्।
गत साता मात्र दिपा र राष्ट्रिय टोलीकी फरवार्ड रेखा पौडेलसम्मिलित माजिया माजिया स्पोर्ट्स एन्ड रिक्रिएसनले माल्दिभ्सको एफएएम महिला फुटबल लिगको उपाधि जितेको थियो। माजियाले गत मंगलवार भएको फाइनलमा ओडी स्पोर्ट्स क्लबलाई २-० ले हराउँदै उपाधि जितेको छ। त्यो माजियाको पहिलो महिला लिग उपाधि हो। त्यो खेलको दोस्रो हाफमा दिपा र रेखाले गोल गर्दै माजियालाई जित दिलाएका थिए ।
गत वर्ष साफ च्याम्पियनसिपमा लागेको चोटबाट मुक्त भएपछि झन्डै दुई महिना अघि दिपाले राष्ट्रिय टोलीमा पुनरागमन गरेकी थिइन्। राष्ट्रिय फुटबल टोलीकै डिफेन्डरद्वय नेपाल पुलिस क्लबका समीक्षा घिमिरे र पूजा राना पनि बंगलादेश लिग खेल्ने भएका छन् ।
फराशगन्ज एससीबाट खेल्नका लागि दुबै खेलाडी आइतवार बंगलादेश प्रस्थान गरेका थिए । ११ टोलीको सहभागितामा साेमबारदेखि सुरु भएकाे बंगलादेश लिग पुस १५ गतेसम्म चल्नेछ । फराशगन्जले पहिलो खेल मंगलवार ढाका रेन्जर्स एफसीसँग खेल्नेछ ।


