कोलम्बो । श्रीलंकामा हालै आएको विनासकारी चक्रवातका कारण अहिलेसम्म कम्तिमा ६ सय १८ जनाको ज्यान गएको श्रीलंका सरकारले जनाएको छ।
गत हप्ता आएको चक्रवातले २० लाख भन्दा बढी मानिसलाई प्रभावित पारेको छ। प्रकोप व्यवस्थापन केन्द्र ९डीएमसी० काअनुसार चक्रवातका कारण पहाडी क्षेत्रहरू अस्थिर बनेका छन्।
भारी वर्षाले अवरुद्ध भएका क्षेत्रहरूमा राहत पुर्याउन हेलिकोप्टर र विमान प्रयोग गरिएको छ। श्रीलंका एयर फोर्सले म्यानमाबाट प्राप्त नयाँ राहत सामग्री पनि वितरण गरेको छ। श्रीलंका सरकारले ६१८ जनाको मृत्यु पुष्टि गरेको छ जसमा ४६४ जना मध्य पहाडी चिया बगान क्षेत्रका छन्। अझै २०९ जनाको विवरण पत्ता लाग्न बाँकी छ।
श्रीलंकाका ७५ हजार भन्दा बढी घरहरूमा क्षति पुगेको छ। सरकारले शुक्रबार ठूलो क्षतिपूर्ति योजना सार्वजनिक गरेको छ। एक वरिष्ठ अधिकारीका अनुसार पुनर्निर्माणमा करिब ७ अर्ब अमेरिकी डलर खर्च लाग्न सक्नेछ। अन्तर्राष्ट्रिय मुद्रा कोष ९आईएमएफ० ले श्रीलंकाको अनुरोधमा थप २०० लाख अमेरिकी डलर सहयोग दिनेबारे विचार गरिरहेको छ। उक्त रकम सन् २०२३ मा स्वीकृत २।९ अर्ब डलरको चार वर्षे ऋणको अतिरिक्त हो।
राष्ट्रपति अनुरा कुमारा दिस्सानायकले भने,‘श्रीलंकाको अर्थतन्त्र सुधार भएको छ तर यस प्रकोपको सामना एक्लै गर्न पर्याप्त बलियो छैन।’
सरकारले बाँचेकालाई सुरक्षित ठाउँमा नयाँ घर बनाउन सहयोग दिने योजना बनाएको छ। प्रत्येक मृत्यु वा स्थायी अपाङ्गता परेका व्यक्तिलाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिइनेछ। केन्द्रीय बैंकले सबै बैंकलाई कर्जाको पुनःसमायोजन गर्न आदेश दिएको छ जसले नागरिकलाई आर्थिक राहत प्रदान गर्नेछ।


