काठमाडौं । राजधानीको कलंकी मन्दिर परिसर शनिबार बिहानैदेखि असामान्य रूपमा चहलपहलपूर्ण देखिन्थ्यो। मन्दिरको प्राङ्गणमा विभिन्न उमेरका मानिसहरू स्वास्थ्य परीक्षणका लागि लाइनमा उभिएका थिए । अवसर थियो—कलंकी मन्दिर संरक्षण तथा समाज सुधार संस्थाको २७औं वार्षिकोत्सव ।
उक्त अवसरमा सो संस्थाले गीतापाञ्चायन कल्याणकारी समाजसँगको संयुक्त पहलमा बृहत् निःशुल्क स्वास्थ्य शिविर र रक्तदान कार्यक्रमको आयोजना गरेको थियो ।
कार्यक्रमको औपचारिक शुभारम्भ काठमाडौं महानगरपालिकाकी उपमेयर सुनीता डंगोलले गर्नुभयो ।
उहाँले समुदायमा आधारित यस्ता स्वास्थ्यमूलक अभियानहरूले जनस्तरमा स्वास्थ्य सचेतना अभिवृद्धि गर्न ठूलो योगदान पुर्याउने बताउनुभयो ।
राजधानीमा बस्ने धेरै नागरिकले नियमित स्वास्थ्य परीक्षण नगर्ने प्रवृत्ति छ । यस्तो अवस्थामा घर–आँगनमै यस्ता शिविर सञ्चालन हुँदा समुदायका धेरै नागरिक लाभान्वित हुन सक्छन्, उपमेयर डंगोलले भन्नुभयो ।
उहाँले महानगरपालिकाले यस्ता जनसेवामूलक अभियानलाई निरन्तर समर्थन गर्ने प्रतिबद्धता समेत जनाउनुभयो ।
कार्यक्रममा वरिष्ठ समाजसेवी वीरबहादुर थापाले दुवै संस्थाको सामाजिक उत्तरदायित्वप्रतिको प्रतिबद्धताको प्रशंसा गर्नुभयो ।

जनहितमा स्थापित यी संस्थाहरूले लाभका लागि होइन, सेवाको भावना लिएर काम गरिरहेका छन् । समाजमा चेतना जगाउने यस्ता अभियान निरन्तर हुनुपर्छ, थापाले भन्नुभयो।
त्यसैगरी, कलंकी मन्दिर संरक्षण तथा समाज सुधार संस्थाका अध्यक्ष लक्ष्मण अधिकारीको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा कल्याणकारी समाजका अध्यक्ष तथा कार्यक्रम संयोजक सुरेन्द्रकुमार दाहालले पनि स्थानीयवासीका लागि यस्ता कार्यक्रमलाई नियमितरूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कलंकी क्षेत्र धार्मिक मात्र होइन, सामाजिक गतिविधिको केन्द्र पनि हो । यहाँका बासिन्दाको स्वास्थ्य र स्वच्छतामा सुधार ल्याउने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको हो,दाहालले बताउनुभयो ।
६ सयभन्दा बढीको स्वास्थ्य परीक्षण
स्वास्थ्य शिविरमा ६ सयभन्दा बढी स्थानीयले स्वास्थ्य परीक्षण गराएका थिए । शिविरमा जनरल चेकअप, स्त्रीरोग, र आँखाको विस्तृत परीक्षणका साथै स्वास्थ्य परामर्श पनि दिइएको थियो ।
नेत्र परीक्षण गराइएका बिरामीमध्ये दृष्टि समस्या भएका व्यक्तिहरूलाई निःशुल्क चश्मा वितरण गरिएको थियो । साथै, उपचारका लागि आवश्यक औषधि पनि निःशुल्क उपलब्ध गराइएको थियो ।
त्यसै अवसरमा आयोजित रक्तदान कार्यक्रममा ४० जनाले रगतदान गरेका थिए ।
नेपाल रेडक्रस सोसाइटीको प्राविधिक सहयोगमा सम्पन्न रक्तदान कार्यक्रममा युवाहरू, स्थानीय व्यवसायी, तथा मन्दिर भक्तहरूको उत्साहपूर्ण सहभागिता थियो । आयोजकका अनुसार संकलित रगत तत्कालीन आपतकालीन अवस्थाका बिरामीका लागि प्रयोग गरिनेछ ।
उक्त स्वास्थ्य शिविर सफल बनाउन जनस्वास्थ्य कार्यालय काठमाडौं, नेशनल अस्पताल कलंकी, र नेपाल नेत्रज्योति संघ त्रिपुरेश्वरले प्राविधिक सहयोग गरेका थिए।
डाक्टर, स्वास्थ्यकर्मी र स्वयंसेवकहरूको टोलीले बिहान ८ बजेदेखि साँझ १२ बजेसम्म निरन्तर सेवा दिएका थिए ।
कार्यक्रमस्थलमा स्वास्थ्य परीक्षणका लागि आएका वृद्ध–वृद्धा, महिला र युवाहरूले लामो समयपछि समुदायमै यस्तो स्तरको निःशुल्क स्वास्थ्य सेवा पाएको भन्दै खुसी व्यक्त गरेका थिए ।
मन्दिर परिसरमा गरिएको सामाजिक–स्वास्थ्य सेवा कार्यक्रमले धर्म र सेवाको अद्भुत संगम प्रस्तुत गरेको स्थानीयवासीहरूले जनाएका छन् । कलंकीका बासिन्दा सुन्दर थापाले भन्नुभयो– मन्दिरमा पूजापाठसँगै जनसेवामूलक काम पनि हुँदा धार्मिक भावना र मानवीय जिम्मेवारी दुबै सँगसँगै अगाडि बढेको अनुभूति भयो ।
संस्थाका अध्यक्ष अधिकारीले कलंकी मन्दिर संरक्षण संस्थाले धार्मिक संरक्षणका साथै समाज सुधार र जनस्वास्थ्यका कार्यलाई प्राथमिकता दिइरहेको बताउनुभयो ।
हामीले कलंकीलाई केवल धार्मिक गन्तव्य होइन, सामाजिक चेतनाको केन्द्र बनाउन चाहन्छौं, उहाँले भन्नुभयो ।


