काठमाडौं । यही असोज २५ गतेदेखि ललितपुरको जावलाखेलमा सुरु भएको ‘१८औँ गोदावरी फूलको प्रतिस्पर्धात्मक प्रदर्शनी २०८२’ मा सर्वसाधारणको बाक्लो उपस्थिति देखिएको छ ।
असोज २५ देखि कार्तिक २ गतेसम्म चल्ने यो एक्पोमा राजधानीका विभिन्न स्थानबाट आएका सर्वसाधारण फूल र बिरुवाको आकर्षणमा रमाइरहेका छन् ।
फ्लोरा एक्स्पोको प्रवेशद्वार रंगीन फूलहरूले सजाइएको छ, जसले आगन्तुकहरूको स्वागत गरिरहेको छ । आयोजकहरूले गोदावरी फूल उत्पादन र संरक्षणको महत्वबारे जनचेतना फैलाउने उद्देश्यले यस कार्यक्रमको आयोजना गरेका हुन् ।
फूलको रौनकसँगै मानिसहरूको अनुहारमा खुसी झल्किरहेको छ । केही फोटा खिच्दै छन्, केही फूलको सुगन्धमा रमाइरहेका छन् । यो प्रदर्शनीले काठमाडौं उपत्यकामा तिहारको सुरुवाती माहौल झनै जीवित बनाइदिएको छ ।


