काठमाडौं । मंगलबार प्रहरीले छापा मारेर गोंगबु स्थित विनोद श्रेष्ठको घरबाट ४ करोड २५ लाख ५० हजार नगद बरामद गरेको छ ।
गोरखाको गोरखा नगरपालिका वडा नम्बर–१ घर भएर काठमाडौँ–२६ मा घर बनाएर बसेका श्रेष्ठको घरमा त्यति नगद मात्र भेटिएन, सुनका गहना पनि अत्यधिक भेटिएको छ । उनको घरबाट करिब ७ केजी गहना प्रहरीले बरामद गरेको छ ।
राखेको पैसा गणना गर्न थालेपछि ७६ वर्षीय श्रेष्ठ हेरिरहे । अनुसन्धान अधिकृतहरूले रकम सुरक्षित गणना गर्ने उल्लेख गर्दै सोधे, ‘कहाँबाट ल्याउनुभयो बुवा यो रकम ?’
श्रेष्ठले जवाफ दिए, ‘एडिबी कम्पनी छ छोराहरूको ।’ बैंकमा धेरै रकमको कारोबार गर्न नपाउने भएपछि घरबाट नै कारोबार गर्ने गरेको श्रेष्ठले बताए । उनले भने, ‘बैंकमा ९ लाखभन्दा बढी कारोबार गर्न मिल्दैन ।’
धरौटीको रूपमा सुन राखेर श्रेष्ठले पैसा ब्याजमा लगाउने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ । काठमाडौँका एसएसपी विश्व अधिकारी भन्छन्, ‘सुन धरौटी राखेर रकम दिने गरेको देखिन्छ ।’
उनले मिटर ब्याजमा समेत लगानी गर्ने गरेको एसएसपी अधिकारीको आशङ्का छ । अधिकारी भन्छन्, ‘त्यसबारे अनुसन्धान गर्छौँ ।’ समेत रकम लिन आउने गरेको श्रेष्ठले दाबी गरेका छन् । प्रहरीसँग उनले भनेका छन्, ‘डीएसपीहरु नै सुन राख्न आउँछन्, पैसा लान्छन् ।’
श्रेष्ठले धरौटीमा राखेको गहना पसलेहरूलाई बेच्ने गरेको थाहा भएको छ । सुन पसलेहरू उनीकहाँ सुन लिन जान्थे ।


