एजेन्सी । क्रोएसियाली स्टार लुका मोड्रिचले सन् २०२६ मा हुने फिफा विश्वकपमा क्रोएसियाको नेतृत्व गर्न चाहेको जनाएका छन् ।
रियल मड्रिडबाट इटालियन क्लब एसी मिलानमा अनुबन्ध भएका ३९ वर्षीय मिडफिल्डर मोड्रिचले अर्को वर्ष हुने फिफा विश्वकप फुटबलमा क्रोएसियाको नेतृत्व गर्न चाहेको बताएका हुन् । त्यसका लागि आफू एसी मिलानमा अनुबन्ध भएको पनि उनले जनाए ।
एसी मिलानसँग मोड्रिचको सम्झौता एक सिजनका लागि छ । तर, सम्झौतामा थप एक वर्ष विस्तान गर्ने विकल्प पनि छ । एसी मिलानले खेलाडीका रूपमा परिचय गराउन आयोजना गरेको पत्रकार सम्मेलनमा मोड्रिचले इटालियन क्लबलाई आफ्नो पूर्वक्लब रियल मड्रिडसँग तुलना गरे र आफ्ना आगामी लक्ष्यहरू खुलासा गरेका छन् ।
रियल मड्रिड र मिलानबीचको भिन्नताबारे मोड्रिचले भनेका छन्, ‘निश्चित रूपमा मिलान रियल मड्रिडको स्तरमा छ । जब म यहाँ पहिलोपटक आएँ, मैले तुरुन्तै यो कति ठूलो क्लब हो भनेर देखेँ । सबै कुरा उच्च गुणस्तरको छ – संगठन, मानिसहरू, प्रशंसकहरू र रंगशाला । तपाईं क्लबको महानता महसुस गर्न सक्नुहुन्छ । मिलानसँग सात युरोपेली उपाधिहरू छन् र यो रियल मड्रिडपछि दोस्रो सर्वाधिक सम्मानित टोली हो र यसले धेरै कुरा बोल्छ ।’
मोड्रिचले मिलान पनि पहिले रियल मड्रिड जस्तै क्लब भएको बताए । ‘मैले विश्वको सबैभन्दा ठूलो क्लबमा १३ वर्ष बिताएँ र अब म त्यस्तो क्लबमा आएको छु, जो पहिले रियल मड्रिड जस्तै थियो । तर, हाल त्यो स्तर एसी मिलानले गुमाएको छ । मिलानलाई पहिलेकै अवस्थामा फर्काउन आवश्यक छ र यो सिजनमा त्यसका लागि म आफ्नो अधिकतम प्रयास गर्नेछु,’ मोड्रिचले भने ।
मोड्रिचले क्लबको प्रशिक्षणमा सहभागी हुन आफू उत्साहित भएको बताए । ‘म प्रशिक्षणमा सामेल हुन र सबैलाई चिन्न उत्साहित छु,’ उनले भने ।


