काठमाडौं । विद्यालयस्तरमा फुटबलमार्फत बालबालिकाको समग्र विकासलाई प्रवर्द्धन गर्ने उद्देश्यले नेपालमा ‘फिफा फुटबल फर स्कूल्स’ कार्यक्रम औपचारिक रूपमा सुरु भएको छ।
बिहीबार दशरथ रंगशालामा आयोजित समारोहका बीच औपचारिक रूपमा ‘फुटबल फर स्कूल्स’ कार्यक्रमको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका छन् ।
विश्व फुटबल महासंघ (फिफा) र युनेस्कोको साझेदारीमा सञ्चालित यस कार्यक्रमले बालबालिकाको शिक्षा, विकास र सशक्तिकरणमा योगदान पुर्याउने लक्ष्य राखेको छ।
विद्यालय तहका विद्यार्थीहरूलाई शारीरिक, मानसिक, सामाजिक र नैतिक रुपमा सक्षम बनाउने उद्देश्यसहित कार्यक्रम अघि बढाइएको एन्फाले जनाएको छ।
कार्यक्रमअन्तर्गत विद्यालयहरूमा फुटबल सामग्री वितरण, प्रशिक्षक तथा शिक्षकहरूलाई तालिम, र फुटबललाई शिक्षणको माध्यमका रूपमा प्रयोग गरी जीवनोपयोगी सीपहरू जस्तै अनुशासन, आत्मविश्वास, सहकार्य, नेतृत्व, लैङ्गिक समानता र सामाजिक समावेशिताका बारेमा सिकाइनेछ।


