काठमाडौँ – युएईमा जारी विश्वकप लिग–२ मा नेपालले पिएनजीमाथि ३ विकेटको संघर्षपूर्ण जित हासिल गरेको छ। नेपालको जितमा नायक बनेका आसिफ शेखले टिमलाई जितसम्म पुर्याउन उत्कृष्ट प्रदर्शन गर्दा उनलाई लेग स्पिनर सन्दीप लामिछानेले संयमित साथ दिएका थिए। नेपालले पपुवा न्यु गिनीले दिएको १७९ रनको लक्ष्य १२ बल बाँकी हुँदा ७ विकेट गुमाएर पूरा गर्यो। शुक्रबार जारी खेलमा पपुवा न्यु गिनीविरुद्ध नेपालले जितका लागि कडा संघर्ष गर्नुपरेको थियो। आशा गरिएका ब्याटरहरुको खराब प्रदर्शनका कारण लगालग आउट भएपछि संकटमा परेको नेपाली इनिङलाई एक छेउबाट ओपनर आसिफ शेखले धानिरहँदा उनले गतिलो साथ पाउन सकेका थिएनन्। तर सातौँ विकेटका लागि कुशल मल्लले ३१ रनको साझेदारी गरे भने मल्ल आउट भएपछि क्रिजमा आएका लामिछानेले उनलै अन्तिमसम्म साथ दिए। आसिफ र सन्दीपले आठौँ विकेटका लागि ७७ रनको अविजित साझेदारी गरेका थिए। आसिफ १३० बलमा २ चौका र १ छक्काको सहयोगमा ८६ रनमा अविजित रहँदा उनलाई लामिछानेले ५० बलमा ३५ रन बनाएर अविजित साथ दिएका थिए। त्यसअघि नेपालका ६ ब्याटर दोहोरो रनको स्कोर नबनाइ पेभिलियन फर्किएका थिए। ओपनर कुशल भुर्तेल गोल्डेन डकआउट हुँदा ज्ञानेन्द्र मल्ल २० बल खेलेर ६ रन जोड्दा पेभिलियन फर्किए। त्यस्तै, भीम सार्की ३५ बलमा ८ रन बनाएर आउट हुँदा कप्तान रोहित पौडेल ८ बलमा १ रन र आरिफ शेख ३ बलमा १ रन बनाएर आउट भए। त्यस्तै, दीपेन्द्र सिंह ऐरी ८ रनमा आउट हुँदा कुशल मल्ल २३ रन बनाएर पेभिलियन फर्किएका थिए। तर नेपालको जितमा आसिफको एकतर्फी प्रयासलाई कुशल र सन्दीपले धैर्यतापूर्वक साथ दिँदा हारनजिकबाट नेपाल उम्किएको थियो। त्यसअघि दुबई अन्तराष्ट्रिय मैदानमा पिएनजीले ४९.२ ओभरमा अलआउट हुँदै १ सय ७९ रन बनाएको थियो। उसका लागि टोनी उराले सर्वाधिक ३९ रन बनाउँदा अर्का ओपनर किप्लीङ डोरिगाले २६ रन बनाएका थिए। त्यस्तै, हिरी–हिरीले ३१ रन बनाए। थप दोहोरो स्कोरका रुपमा गौडी टोकाले १५ रन बनाउँदा सेसे बाउ र कप्तान असद भालाले समान ११–११ रन बनाए। त्यस्तै, नोर्मन भनुवाले १४ रन बनाएका थिए। नेपालका लागि दीपेन्द्र सिंह ऐरी र सोमपाल कामीले २–२ विकेट लिँदा सन्दीप लामिछाने, करण केसी र कुशल मल्लले समान १–१ विकेट लिएका थिए। जारी सिरिजमा आफ्नो पहिलो खेलमा नेपालले पिएनजीलाई हराएको थियो। तर दोस्रो खेलमा भने नेपाल युएईसँग पराजित भएको थियो। नेपालको यो युएई सिरिजमा पिएनजीमाथि लगातार दोस्रो जित हो। जितपछि नेपाल लिग अङ्क तालिकामा ३१ खेलमा १४ मा जित र १५ हारसहित ३० अङ्क बनाउँदै छैटौं स्थानमा कायम छ। अब नेपाल युएईभन्दा १ अङ्कले पछि छ। पीएनजी भने ३१ खेलमा ३ मा जित र २७ मा हारसहित ७ अङ्क जोड्दै तालिकाको पुछारमा रहेको छ।
