काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्से) परिसूचक बिहीबार पनि घटेको छ । यो साता मंगलबारदेखि नेप्से निरन्तर बिहीबारसम्म क्रमशः घटेको हो ।
नेप्सेमा कारोबार हुने साताको अन्तिम दिन बिहीबार नेप्से सूचक ४.४५ अंकले घटे पनि कारोबार रकममा सुधार आएको छ । यस दिन नेप्सेमा ७ अर्ब ७८ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।
बिहीबार बैंकिङ तथा बीमा कम्पनीको सेयर मूल्यमा गिरावट आएपछि समग्र नेप्से सूचक घटेको हो । नेप्सेमा कारोबार भएका १ सय ५५ कम्पनीको सेयर मूल्य घट्दा पनि नेप्सेको गिरावटमा मद्दत पुग्यो ।
बिहीबार ग्रिन डेभलमेन्ट बैंक र सप्तकोशी डेभलपमेन्ट बैंकको सेयर मूल्य ९ प्रतिशतभन्दा धेरैले बढेको छ । यस दिन रिलायबल समृद्धि योजनाका इकाइ धनीले ९ प्रतिशतभन्दा धेरैले गुमाएका छन् । बिहीबार पनि बुटवल पावर कम्पनीको धेरै रकम बराबर सेयर निबेच भएको नेप्सेले जनाएको छ । त्यसैगरी सिंगटी हाइड्रोपावर कम्पनीको धेरै कित्ता सेयर कारोबार भएको छ भने धेरै पटक कारोबार हुने कम्पनीमा बरुण हाइड्रो छ ।
बिहीबार नेप्सेमा ३ सय ६ कम्पनीको ७४ हजार २ सय ३९ कारोबारबाट ७ अर्ब ७८ करोड २ लाख रुपैयाँ बराबरको १ करोड ९६ लाख ५० हजार २ सय १० कित्ता सेयर किनबेच भएको छ । यो कारोबार रकम बुधबारको तुलनामा धेरै हो । बुधबार नेप्सेमा ३ सय ११ कम्पनीको ६१ हजार ८ सय कारोबारबाट १ करोड ३७ लाख ५९ हजार कित्ता सेयर ५ अर्ब ९४ करोड रुपैयाँमा खरिद–बिक्री भएको छ ।


