काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को २४औं राष्ट्रिय सम्मेलन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतदान सुरु भएको छ। सम्मेलन कीर्तिपुरमा जारी छ।
निर्वाचन समितिका अनुसार मतदान बिहान ८ बजेबाट सुरु हुने भनिए पनि केही ढिलाइपछि मात्र सुरु भएको हो। मतदानका लागि ४५ वटा इलेक्ट्रोनिक भोटिङ मेसिन प्रयोग गरिएको छ ।
हिजो साँझ उम्मेदवारी दर्ता भएपनि निर्वाचन समितिले उम्मेदवारहरूको अन्तिम नामावली आज बिहान मात्रै सार्वजनिक गरेका थिए। अध्यक्ष पदका लागि मुख्य प्रतिस्पर्धामा सुजन कडरिया र प्रकाश पौडेलले आ–आफ्ना प्यानलसहित प्रतिस्पर्धा गरिरहेका छन्।
निर्वाचन समितिका अनुसार आज बेलुका ४ बजेसम्म मतदान हुनेछ । मतदान सकिएको एक घण्टापछि मतगणना सुरु गरिने र आज राति नै मतपरिणाम सार्वजनिक गर्ने तयारी गरिएको छ।


