काठमाडौं । राजसंस्था र हिन्दुराष्ट्र पुन:स्थापनाका लागि आन्दोलनमा सहभागी भएका खेमराज सेडाईको दुई महिनादेखि बैंक खाता रोक्का रहेको छ।
चैत्र १५ गते तीनकुनेमा भएको आन्दोलनमा सहभागी भएका सेडाईको त्यसयता बैंक खाता रोक्का रहेको हो।
आन्दोलनका समयमा हिंसा भड्किएपछि उनी पनि पक्राउ परेका थिए। चैत्र २२ गते पक्राउ परेका सेडाईलाई दुई दिनपछि चैत्र २४ गते छाडिएको थियो।
तर उनको बैंक खाता भने छुटेकै दुई महिना हुँदा पनि प्रहरीले रोक्का नै राखिरहेको छ। ‘म छुटेकै दुई महिना भयो। त्यसबेला मेरो बैंक खाता रोक्का बनाइएको अझै खुलाइएको छैन’, सेडाईले दुखेसो पोखे, ‘किन नखोलेको भन्दा प्रहरीले माथि प्रशासनबाट आदेश आएको छैन भन्छ।’
बैंक खाता रोक्का राखेर संवेदनहीनता देखाएको उनको भनाइ छ। प्रहरीले उनको मोबाइलसमेत महिना दिनपछि वैशाख २० गतेमात्र फिर्ता दिएको थियो।
सेडाईका अनुसार प्रहरीले पक्राउ गरेपछि अमानवीय व्यवहार देखाएको थियो। आफूले लगाएको जनैसमेत खोल्न लगाएको उनले बताए।


