काठमाडौं । सत्तारुढ दलका सांसदहरूले विपक्षी दलहरूले असहयोग गरे पनि संसद्को कारबाही अघि बढाइने भएकाे छ ।
आइताबर संसद्को गतिरोध अन्त्य गर्न सभामुख देवराज घिमिरेले बोलाएको प्रमुख सचेतकहरूको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै सत्तारुढ दल नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले यस्तो जनाएका हुन् ।
घिमिरेले संसदलाई अगाडि बढाउन प्रतिपक्षी सकारात्मक नभएको भन्दै प्रतिपक्षीले सहयोग गरेको खण्डमा छलफल सकारात्मक ढंगले अगाडि बढ्ने जनाए ।
‘आजबाट संसद सञ्चालनमा आउँछ । अपोजिसनबाट हामीले कुनैपनि निष्कर्ष र निर्णय हामीले पाएका छैनौँ,’ घिमिरेले भने, ‘उहाँहरूले सहयोग गरे राम्रैसँग सञ्चालनमा आउँछ । यदि उहाँहरूले अप्ठ्यारो गरेपनि केही असहज होला तर संसद अगाडि बढ्छ ।’
त्यस्तै, नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले पनि यसअघि जस्तो सूचना टाँसेर संसद् स्थगित गर्ने पक्षमा आफूहरू नरहेको जनाए ।
‘प्रमुख प्रतिपक्षी दहलहरुले सहमतिको लागि बैठक स्थगित गर्न अपिल गर्नुहुन्थ्यो । हामीले त्यो हामीले मान्दै आयौँ,’ बर्तौलाले भने, ‘आजको बैठकमा चाँही हिजोको जस्तो सूचना टाँस गरेर स्थगित गर्ने हिजोको निरन्तरता हुँदैन ।’
आजैबाट बजेटमाथि छलफल प्रारम्भ हुने पनि उनले बताए ।
नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेसहितको छलफलका क्रममा आ–आफ्ना अडान यथावत रहँदा सहमति जुट्न सकेको छैन ।
भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लखेककमाथि छानबिन हुनुपर्ने प्रतिपक्षीको अडानका कारण संसद अवरोध हुँदै आएको छ ।
निरन्तरको अवरेधका कारण अगामी आर्थिक वर्षको बजेटमाथिको छलफल समेत प्रभावित भएको छ ।


