काठमाडौं । मिटर ब्याज पीडित किसान मजदुरहरूले कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग भेट गरेका छन् ।
मिटर ब्याज तथा ठगी विरुद्ध किसान मजदुर सङ्घर्ष समितिका संयोजक अवधेश कुशवाह र निर्घ नविनसहितको टोलीले भैरहवास्थित रुपन्देही जिल्ला कारागारमा भेट गरेका हुन् ।
भेटमा उनीहरूले किसानका समस्यामा सरकार अनुदार बनेको गुनासो गरेका छन् । गृहमन्त्रीका रूपमा रवि लामिछानेले गरेका सम्झौता नयाँ सरकार बनेपछि कार्यान्वयन नगरिएको उनीहरूको गुनासो छ ।
सरकारले मिटर ब्याज पीडितलाई चिन्न छोडेको बताउँदै निर्घ नवसिनले भने, ‘पहिला जुन तदारुकताका साथ काम भएको थियो, अहिले त्यो छैन ।
त्यति लामो छलफल र गृहकार्यपछि भएको सम्झौता अहिले कार्यान्वयन हुनै सक्दैन भन्ने कुरा भइराखेको छ । एक हिसाबले भन्ने हो भने सरकारले हामीलाई चिन्न छोडिसक्यो ।’


