एजेन्सी । भारत र पाकिस्तानबीच युद्धविरामको सहमतिलाई लिएर अमेरिकी विदेशमन्त्री मार्को रुबियोले उल्लेख गरका दुई तथ्यमा भारतले विमति राखेको छ।
रुबियोले आफू र उपराष्ट्रपति भान्सले दुवै पक्षसँग संवाद गरी भारत र पाकिस्तानलाई संवादमा ल्याएको संकेत गरेका थिए।
तर, भारतीय अधिकारीहरूले पाकिस्तानसँग ‘सोझै’ कुराकानी भएकोमा जोड दिएका छन्।
‘भारत र पाकिस्तानबीच गोलीबारी र सैन्य कारबाही रोक्ने सहमति दुई मुलुकबीच सोझै संवादबाट गरिएको हो,’ भारतीय स्रोतलाई उधृत गर्दै सञ्चारमाध्यमले जनाएका छन्।
विदेशमन्त्री एस जयशंकरले पनि ‘भारत र पाकिस्तानले आज गोलीबारी र सैन्य कारबाही रोक्ने समझदारी गरेको’ जनाएका छन्।
भारतले विमति जनाएको अर्को विषय हो, तटस्थ स्थानमा वार्ता गर्ने समझदारी। रुबियोले दुई मुलुक तटस्थ स्थानमा वार्ताका लागि सहमत भएको जनाएका थिए।
तर, भारतीय सूचना मन्त्रालयले विज्ञप्ति जारी गर्दै अरु कुनै विषयमा अन्यत्र कही वार्तामा बस्ने निर्णय नभएको जनाएको छ।


