रुपन्देही । जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा पत्रकार राधेश्याम विश्वकर्मालाई आक्रमणको प्रयास गर्ने समूहमाथि कारवाहीको माग गर्दै ज्ञापनपत्र बुझाएका छन् ।
मंगलबार नेपाल पत्रकार महासंघ, रुपन्देही र लुम्बिनी प्रेस क्लबले प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेलाई ज्ञापनपत्र बुझाएका हुन् । पत्रकार महासंघ रुपन्देहीका सदस्य एवं अन्नपूर्ण मिडिया नेटवर्क प्रा.लि. एपी वान टेलिभिजन) मा कार्यरत पत्रकार विश्वकर्मालाई सोमबार मर्चवारमा तस्करहरुको समूहले दुव्र्यवहार गर्नुका साथै आक्रमणको प्रयास गरेकोप्रति गम्भीर ध्यानाकर्षण भएको पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष दिनेश पाण्डेले जानकारी गराए ।
साे घटनाले प्रेस स्वतन्त्रता मात्र नभइ मानवअधिकार समेत कुण्ठित भएको आफूहरुको ठम्याई रहेको उनले जनाए । ‘घटनापछि पक्राउ परेका व्यक्ति प्रहरी नियन्त्रणबाट भाग्नुले रुपन्देहीको शान्ति सुरक्षा, प्रेस स्वतन्त्रताप्रति राज्यको निकायको हेर्ने दृष्टिकोण, अपराधिक व्यक्तिको मनोबल वृद्धि भएको हाम्रो निष्कर्ष हो, उक्त घटनामा संलग्न सम्पूर्ण पक्षलाई पक्राउरअनुसन्धान गरी कानूनी दायरामा ल्याउन नेपाल पत्रकार महासंघ रुपन्देही जोडदार माग गर्दछ, ’ज्ञापनपत्रमा उल्लेख छ ।
पत्रकारमाथि आक्रमणको प्रयास हुँदा प्रहरी अधिकारी मुकदर्शक बन्नु निन्दनीय भएको अध्यक्ष पाण्डेले जनाए ।


