काठमाडौं । ललिता निवास प्रकरणमा मुछिएका पूर्वप्रधानमन्त्री द्वय: माधव नेपाल र डा.बाबुराम भट्टराईविरुद्ध परेको रिटको सुनाइ आज हुँदैछ।
सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, न्यायाधीश टेकप्रसाद ढुंगाना र नित्यानन्द पाण्डेयको इजलासमा पेसी तोकिएको छ। दोस्रो नम्बरमा तोकिएको पेसीको आजै सुनाइ हुने सम्भावना बढी रहेको छ।
तीन जनाको यो पूर्ण इजसाल हो। गएको फागुन १ गते नेपाल र भट्टराईविरुद्ध भ्रष्टाचार र लिखतसम्बन्धी कसुर (किर्ते) मुद्दा चलाउनुपर्ने मागसहित सर्वोच्च अदालतमा दायर रिटमा न्यायाधीश द्वय: तिलप्रसाद श्रेष्ठ र नित्यानन्द पाण्डेको इजलासले पूर्ण इजलासमा सुनाइ गर्न आदेश दिएको थियो।
पूर्ण इजलासमा कम्तीमा ३ जना न्यायाधीश हुन्छन्। २०७६ माघ २२ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललिता निवास प्रकरणमा एक सय ७५ जनाविरुद्ध मुद्दा दायर गरे पनि नीगिगत निर्णय भन्दै तत्कालीन प्रधानमन्त्रीका हैसियतमा नेपाल र भट्टराईविरुद्ध मुद्दा नचलाउने निर्णय गरेको थियो।
उक्त निर्णयलाई चुनौती दिँदै अधिवक्ता बालकृष्ण न्यौपानलेले २९ माघ २०७६ मै सर्वोच्च अदालतमा रिट दर्ता गराएका थिए।


