काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले देशको संविधान सबैलाई मिलाउन सक्ने खालको भएको जनाएका छन् ।
समावेशी र समानुपातिक आधारमा देश अघि बढिरहेको जनाउँदै उनले संविधानले महत्त्वपूर्ण भूमिका खेलिरहेको जनाए ।आइतबार नेपाल मुस्लिम संघको इद मिलन तथा नयाँ वर्षको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले कुनै पनि दलको बहुमत आउन गाह्रो भएको भए पनि सबैलाई मिलाएर अघि बढ्ने संविधान भएको जनाए ।
‘हाम्रो देश समावेशी र समानुपातिकताको आधारमा अघि बढिरहेको छ । यसमा मुस्लिम समुदायको पनि प्रतिनिधित्व छ,’ पूर्वप्रधानमन्त्री समेत रहेका सभापति देउवाले भने, ‘नेपालको संविधान अत्यन्तै राम्रो छ । कुनै पनि पार्टीको बहुमत आउन गाह्रो छ । तर, पनि सबैलाई मिलाउन सक्ने संविधान छ ।’


