काठमाडौं । काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले उत्पादित बायोग्यासको प्रभावकारी वितरणका लागि सरकारले तत्काल स्पष्ट नीतिगत व्यवस्था गर्नुपर्ने माग गरेकी छन् ।
बिहीबार टेकुस्थित बायो–मिथेनेसन प्लान्टको परीक्षण कार्यक्रममा बोल्दै डंगोलले ग्यास उत्पादनपछि उपभोक्तासम्म पुर्याउने प्रक्रियामा नीतिगत अस्पष्टता रहेको भन्दै सरकारको ध्यानाकर्षण गराएकी हुन् ।
उनले बायोग्यास वितरणका लागि सिलिण्डर र पाइपलाइन दुवै विकल्प खुला राखेर आवश्यक नीति बनाउनुपर्नेमा जोड दिइन् । विशेषगरी पाइपलाइनमार्फत घरघरमा ग्यास पुर्याउने व्यवस्था गर्न स्पष्ट कानुनी तथा नीतिगत आधार आवश्यक रहेको उनको धारणा थियो ।
प्राविधिक समस्याका कारण लामो समयदेखि बन्द रहेको प्लान्ट पुनः सञ्चालनमा ल्याइएको उल्लेख गर्दै उनले यसको दीर्घकालीन सञ्चालन र दिगोपन सुनिश्चित गर्न सरकारले ढिलाइ गर्न नहुने जनाइन् ।
‘प्लान्ट सञ्चालन भएपछि उत्पादन हुने ग्यास वितरण कसरी गर्ने भन्ने विषयमा अहिलेसम्म स्पष्ट नीति रहेनछ । त्यसैले यो नीतिगत अवरोध तत्काल हटाउन म मन्त्रीज्यूलाई आग्रह गर्न चाहन्छु,’ उनले भनिन् ।
डंगोलले ग्यास सिलिण्डरमार्फत घरघरमा पुर्याउने र पाइपलाइनबाट वितरण गर्ने दुवै विकल्पलाई नीतिमा समेट्नुपर्ने बताइन् । उनका अनुसार पाइपलाइन वितरणसम्बन्धी नीति नबन्दा प्लान्ट सञ्चालनपछि उत्पादित ग्यासको पूर्ण उपयोगमा चुनौती आउन सक्छ ।


