सुर्खेत । अर्नव चक्रवात र पश्चिमी वायुको प्रभावले कर्णाली प्रदेशका हिमाली जिल्लासहित देशका विभिन्न भूभागमा वर्षा तथा हिमपातको सम्भावना रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरिएको छ।
मौसम–जलवायु विज्ञान कार्यालय सुर्खेतले बिहीबार १२-१४ कात्तिकसम्म मौसममा प्रभाव पर्न सक्ने भन्दै सावधानी अपनाउन अनुरोध गरेको हो। कार्यालयका अनुसार बिहीबार कर्णाली प्रदेशका सुर्खेत, सल्यान, दैलेख र रुकुम पश्चिमबाहेकका जिल्लामा मौसमको प्रभाव पर्ने सम्भावना छ। शुक्रबार र शनिबार भने देशभर वर्षा तथा हिमपात हुन सक्ने पूर्वानुमान गरिएको छ। मौसममा हुन सक्ने परिवर्तनलाई ध्यानमा राख्दै विशेषगरी हुम्ला, मुगु, डोल्पा, जुम्ला, कालीकोट, जाजरकोट र दैलेखलगायत जिल्लाका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरिएको छ।
मौसमसम्बन्धी अद्यावधिक सूचना नियमित रूपमा लिन पनि कार्यालयले अनुरोध गरेको छ। पहिरो, बाढी र हिमपहिरोको जोखिम सम्भावित वर्षाका कारण पहिरो, बाढी, लेदो तथा गेग्रान बहावको जोखिम रहन सक्ने जनाइएको छ। त्यस्तै, हिमाली क्षेत्रमा हिमआँधी र हिमपहिरोजस्ता विपद् निम्तिन सक्ने भएकाले विशेष सावधानी अपनाउन आग्रह गरिएको छ। सम्भव भएसम्म हिमाली क्षेत्रमा यात्रा नगर्न र यात्रा गर्नैपर्ने अवस्था भए मौसमको अवस्था बुझेर मात्र अघि बढ्न अनुरोध गरिएको छ। विशेषगरी हिमाली तथा पहाडी क्षेत्रका जोखिमयुक्त सडक र पदमार्गमा यात्रा गर्नेले मौसमको पूर्वानुमानलाई ध्यान दिन आवश्यक छ।
धानबाली भित्र्याउँदा सावधानी अपनाउन आग्रह अहिले धानबाली भित्र्याउने समय भएकाले किसानलाई पनि मौसमको अवस्थाबारे जानकारी लिएर मात्र धान काट्ने तथा भित्र्याउने काम गर्न अनुरोध गरिएको छ। सम्भावित वर्षाका कारण काटेर खेतमै राखिएको धान भिज्ने तथा बालीमा क्षति पुग्ने जोखिम रहेकाले किसानले मौसमको पूर्वानुमानअनुसार कटानी र भण्डारणको तयारी गर्नुपर्ने देखिन्छ।
जिल्ला प्रशासनद्वारा पनि सतर्क रहन आग्रह सम्भावित मौसमी जोखिमलाई ध्यानमा राख्दै कर्णालीका हिमाली तथा पहाडी जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूले सूचना जारी गर्दै सचेत भएर यात्रा गर्न आग्रह गरेका छन्।
डोल्पाका प्रमुख जिल्ला अधिकारी जुनु हमालले मौसमको अवस्थालाई ध्यानमा राखेर सावधानीपूर्वक यात्रा गर्न आग्रह गरिएको बताइन्।
त्यस्तै, जिल्ला प्रशासन कार्यालय हुम्लाले पनि सूचना जारी गर्दै मौसमको पूर्वानुमान हेरेर मात्र यात्रामा निस्कन अनुरोध गरेको छ। सम्भावित मौसमी जोखिमबाट जोगिन स्थानीय बासिन्दा, किसान तथा यात्रुले आधिकारिक मौसम पूर्वानुमान नियमित रूपमा हेर्न र जोखिमयुक्त स्थानमा विशेष सतर्कता अपनाउन आवश्यक छ।
हेर्नुहोस् सूचना :



