काठमाडौं । स्पेनकी मिडफिल्डर एलेक्सिया पुटेलासले तेस्रो पटक महिला बालोन डी’ओर अवार्ड जितेकी छन्। उनी यो अवार्ड तीन पटक जित्ने खेलाडीको कीर्तिमानी सूचीमा स्पेनकै आइताना बोनमतीसँगै रहेकी छन्।
३२ वर्षीया पुटेलासले सन् २०२५–२६ को सिजनमा बार्सिलोनाको कप्तानी गर्दै च्याम्पियन्स लिगसहित चार उपाधि जितेकी थिइन्। त्यसपछि उनी जुलाईमा इंग्लिस महिला सुपर लिगको टोली लन्डन सिटी लायनेसमा आबद्ध भएकी थिइन्।
पुटेलासले यसअघि सन् २०२१ र २०२२ मा लगातार बालोन डी’ओर जितेकी थिइन्। बोनमतीले भने २०२३, २०२४ र २०२५ मा यो अवार्ड जितेकी थिइन्। पछिल्ला ६ वर्षदेखि महिला बालोन डी’ओर स्पेनका खेलाडीले जित्दै आएका छन्। सन् २०१८ मा नर्वेकी आडा हेगरबर्ग र २०१९ मा अमेरिकाकी मेगन रापिनोले यो अवार्ड जितेका थिए।
सन् २०२२ मा घुँडाको एसीएल चोटका कारण लामो समय मैदानबाहिर रहेकी पुटेलासको यो जितलाई विश्व फुटबलको शीर्ष स्तरमा उनको पुनरागमनका रूपमा हेरिएको छ।
अवार्ड पाएपछि पुटेलासले विश्वभरका बालबालिकालाई आफूलाई मन पर्ने खेल खेल्न र आफ्नो क्षमतामा विश्वास गर्न आग्रह गरिन्। उनले फुटबल खेल्न केटा वा केटी हुनु, कहाँबाट आएको हुनु वा अरूले के भन्छन् भन्ने कुराले फरक नपर्ने बताइन्।
फिफा वरीयताका शीर्ष ५० देशका अन्तर्राष्ट्रिय पत्रकारहरूको मतका आधारमा पुटेलासले सर्वाधिक मत प्राप्त गरेकी थिइन्। बार्सिलोनाकी स्ट्राइकर एवा पाजोर दोस्रो र म्यानचेस्टर सिटीकी फरवार्ड खदिजा शा तेस्रो स्थानमा रहे।
यसैबीच, पुरुषतर्फ इंग्ल्यान्डका कप्तान ह्यारी केनले बालोन डी’ओर जितेका छन्। उनी सन् २००१ मा माइकल ओवेनपछि यो अवार्ड जित्ने पहिलो इंग्लिस खेलाडी बनेका छन्।

