एजेन्सी । अमेरिकाको रक्षा मन्त्रालयले चिनियाँ भाषा र संस्कृतिको शिक्षा प्रदान गर्दै आएका कन्फ्युसियस इन्स्टिच्युटहरूलाई राष्ट्रिय सुरक्षाका लागि खतरा ठहर्याएको छ ।
अमेरिकी रक्षामन्त्री पीट हेगसेथले ती संस्थाहरूले चिनियाँ प्रचार केन्द्रका रूपमा काम गरिरहेको आरोप लगाएका छन् । उनले अमेरिकी विश्वविद्यालयहरूमा विभिन्न नाममा यस्ता दर्जनौँ केन्द्र स्थापना गरिएको दाबी गरेका छन् ।
सामाजिक सञ्जालमा सार्वजनिक गरिएको भिडियोमा हेगसेथले ती संस्थाहरूको उद्देश्य बौद्धिक सम्पत्ति चोरी गर्नु र अमेरिकी विद्यार्थीहरूको विचारधारालाई प्रभावित पार्नु रहेको आरोप लगाएका छन् ।
उनका अनुसार अमेरिकी रक्षा मन्त्रालयले यस्ता केन्द्रहरूलाई व्यवस्थित रूपमा बन्द गर्ने दिशामा काम गरिरहेको छ ।
कन्फ्युसियस इन्स्टिच्युटहरू चिनियाँ भाषा तथा संस्कृति प्रवर्द्धन गर्ने उद्देश्यले विभिन्न देशका शैक्षिक संस्थाहरूसँगको सहकार्यमा स्थापना गरिएका केन्द्र हुन् ।
यस विषयमा वासिङ्टनस्थित चिनियाँ दूतावासले भने अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन ।


