सामाजिक सञ्जाल फेसबुकमार्फत शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री शाहले पौराणिक मान्यता अनुसार यसै दिन दुर्गा भवानीले महिषासुर जस्तो आसुरी शक्तिमाथि विजय प्राप्त गरेको र भगवान् रामले पनि असत्यका प्रतीक रावणको अन्त्य गरेको दिनका रूपमा लिइने उल्लेख गरेका हुन्।
विजयादशमी मनाउँदै गर्दा मान्यजनबाट दुर्गा भवानीको प्रसादस्वरूप टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने परम्परा रहेको उनले जनाएका छन्। दुर्गा भवानीले विजय प्राप्त गरे जस्तै हरेक सत्कर्ममा विजय प्राप्त गर्न सकियोस् भन्ने कामना मान्यजनहरूले गर्ने र आशीर्वाद ग्रहण गर्न टाढा रहेका मान्यजनहरूकहाँ समेत मानिसहरू खोजीखोजी पुग्ने गरेको उनले उल्लेख गरे।
प्रधानमन्त्री शाहका अनुसार विजयादशमीले मानिसमा रहेका अहंकार, लोभ, ईर्ष्या, हिंसा र विभेद जस्ता नकारात्मक सोचलाई त्याग्न प्रेरणा दिन्छ।
‘आजको दिनमा आसुरी प्रवृत्तिको रूपमा रहेको भ्रष्टाचार, कुशासन, ढिलासुस्ती, असमानता र राजनीतिक व्यथिति हटाउन र हरेक नागरिकलाई हाम्रा लागि सरकार छ भन्ने महसुस गराउन हामी सबै एकजुट हुन आवश्यक छ,’ उनले सन्देशमा भनेका छन्, ‘इमान्दार प्रयास, अठोट र सामूहिक मेहनतले नै हामीलाई यस्ता विकृति हटाउन मद्दत गर्नेछ।’ उनले परिवर्तनका लागि सोचसँगै व्यवहार पनि बदल्न जरुरी रहेको जनाएका छन्।
यस पर्वले भौगोलिक, सांस्कृतिक र भाषिक विविधतायुक्त समाजमा सबै वर्ग, समुदाय र क्षेत्रका नागरिकलाई एउटै सूत्रमा बाँध्न र वर्षौँसम्म छुट्टिएका साथीभाइ तथा आफन्तजनसँग आत्मीयता बाँड्ने अवसर समेत दिने उनले जनाएका छन्। प्रधानमन्त्री शाहले आ-आफ्नो ठाउँबाट क्षमता अनुसार विजयादशमी मनाउन र आपसमा सद्भाव, एकता, सम्मान र माया साट्न आह्वान गरेका छन्।


