बनेपा । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले काभ्रेपलाञ्चोकको ऐतिहासिक तथा धार्मिक शक्तिपीठ पलान्चोक भगवतीको दर्शन गर्नुभएको छ । प्रधानमन्त्री शाह बुधबार बिहान करिब १० बजे पाँचखाल नगरपालिका ९ स्थित पलान्चोक भगवतीको पूजाआजा तथा दर्शन गर्नुभएको हो ।
पाँचखाल नगरपालिका ९ का वडा अध्यक्ष रामकाजी श्रेष्ठले बुधबार बिहान करिब १० बजे प्रधानमन्त्री शाह भौतिक पुर्वाधार तथा यातायात मन्त्री सुनिल लम्साल, राजनीतिक सल्लाहकार कुमार बेनसहित मन्दिर आइपुग्नुभएको बताउनुभयो ।
पलान्चोक मन्दिर आइपुग्नु भएका प्रधानमन्त्री शाहले करिब १० मिनेट मन्दिरको दर्शन गरि फर्कनु भएको वडा अध्यक्ष श्रेष्ठले बताउनुभयो । पलान्चोक आउनुभएका प्रधानमन्त्री शाहले पलान्चोक भगवतीका साथै नजिकै रहेको कालिदेवीको दर्शन गर्नु भएको पलान्चोक मन्दिरका पुजारी सुजित बज्राचार्यले जानकारी दिनुभयो । प्रधानमन्त्री शाह स्थलमार्ग भएर पलान्चोक आउनुभएको हो ।
पलाञ्चोक भगवती मन्दिर नेपालका प्रसिद्ध शक्तिपीठमध्ये एक हो। भगवतीको दर्शन तथा पूजाआजाका लागि यहाँ विभिन्न जिल्लाबाट श्रद्धालु भक्तजन आउने गरेका छन्। ऐतिहासिक, धार्मिक तथा पुरातात्त्विक महत्त्व बोकेको यस मन्दिरमा विशेष पर्व, नवरात्र तथा अन्य धार्मिक अवसरमा भक्तजनको उल्लेख्य उपस्थिति रहने गर्दछ। पलाञ्चोक भगवतीलाई शक्तिस्वरूपा देवीका रूपमा पूजाआजा गर्ने धार्मिक परम्परा रहि आएको छ।


